बुधबार, पुष १०, २०८१
04:31 | १०:१६

गोर्खा समुदायसंग निकट सांसद शर्मा आसन्न चुनावबाट पछि हटे

नेपाली लिङ्क मे ३०, २०२४

लन्डन– पांचपटक संसदीय चुनाव जितिसकेका बेलायतको लेबर पार्टीका वरिष्ठ सांसद वीरेन्द्र शर्माले यसपटक पुनः निर्वाचनमा नउठ्ने घोषणा गरेका छन् ।

आफ्नो इलिङ साउथल निर्वाचन क्षेत्रका सदस्यहरूलाई एक पत्र लेख्दै शर्माले आगामी जुलाई ४ गते हुने आमनिर्वाचनमा पुनः उम्मेदवारी नदिने जानकारी दिएका हुन् ।

२००७ को उपनिर्वाचनमा पहिलोपटक विजय भएका उनी सन् २०१०, २०१५, २०१७ र २०१९ मा हाउस अफ कमन्समा पुनः निर्वाचित भएका थिए ।

आफ्नो दलका सदस्यहरूलाई पत्र लेख्दै सांसद शर्माले भने, ‘इलिङ साउथहलको सांसदका रुपमा सेवा गर्न पाउनु मेरो जीवनकै सौभाग्य भएको छ । पाँच पटक संसदीय निर्वाचनमा निर्वाचित हुन पाउँदा मैले सम्मानित महशुस गरेको छ । लेबर पार्टीको तर्फबाट ग्रीनफोर्ड, वेस्ट इलिङ, ह्यानवेल, नर्थफिल्ड्स र साउथलका धेरै मानिसका लागि काम गर्न पाउँदा खुसी लागेको छ ।’

‘देश परिवर्तनका लागि रोइरहेको छ, र सर कियर स्टारमर, एन्जेला रेनर लगायत सम्पूर्ण लेबर पार्टी यो देशलाई आवश्यक परिवर्तनको प्रतिनिधित्व गर्दछ । सन् २०२० मा कियरलाई नेताका लागि मनोनयन गर्न पाउँदा मलाई गर्व लागेको थियो, र यस पार्टीलाई पुनर्निर्माण गर्न उनले त्यसबेला गरेका वाचाहरूले हामीलाई शक्तिको बाटोमा पुरयाएको छ । हामीले गत एक शताब्दीको सबैभन्दा खराब नतिजाबाट सरकारको नजिक पुगेका छौं’, शर्माले लेखेका छन् ।

“एक ब्रिटिश–भारतीय र एक हिन्दूको रूपमा, एक लेबर सदस्य, काउन्सिलर एवं सांसदको रूपमा मैले ती भिन्न, तर प्रशंसायोग्य, पहिचानहरू मिलाउन कहिल्यै संघर्ष गरेको छैन् । झण्डै ५० वर्षदेखि मैले पार्टीलाई कुनै न कुनै रूपमा सेवा गरेको छु । अब अर्को अध्याय सुरु गर्ने समय आएको मलाई लागेको छ,” ७७ वर्षीय शर्माले पत्रमा लेखेका छन्।

ब्रिटिश इण्डियास्थित पञ्जाव प्रान्तको नवानशहरमा जन्मिएका उनले लन्डन स्कूल अफ इकोनोमिक्समा ट्रेड युनियन छात्रवृत्तिमा अध्ययन गरेका थिए।

उनले १९८२ देखि २०१० सम्म लन्डन बरो अफ इलिङमा काउन्सिलरको रूपमा सेवा गरेपछि मेयर भएका थिए । उनी सन् २००७ मा इलिङ साउथलबाट पहिलोपटक सांसद निर्वाचित भएका थिए ।

शर्मा नेपाली समुदाय र भूतपूर्व गोर्खा समुदायसंग निकट छन् । ब्रिटिश संसदको नेपाल सम्बन्धी सर्वदलीय संसदीय समितिका सभापति शर्माले भूतपूर्व गोर्खा मुद्दामा संसदमा निरन्तर आवाज उठाउंदै आएका छन् ।

उनले कयौंपटक नेपालको औपचारिक भ्रमण समेत गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू