अन्नपूर्ण म्याराथनमा भाग लिन लन्डनबाट चार जना नेपालमा
लन्डन । चौंथो अन्नपूर्ण म्याराथनमा भाग लिन लन्डनबाट चार जनाको टोली नेपाल पुगेको छ ।
नेपाल रन यूकेका संयोजक सन्तोष राईको नेतृत्वमा नेपाल गएको उक्त टोलीमा गत वर्ष एभरेष्ट म्याराथन गरेकी नेपाल रन यूके सदस्य अन्जु सिग्देल, हिलिङ्डन रनिङ क्लबकी निक्की र राइस्लिप रनिङ क्लबका सरवजित छन्।
२९ मेमा घान्द्रुकबाट ट्रेकिङ सुरु गरी अन्नपूर्ण बेस क्याम्प पुगेर ३ जुनमा म्याराथन शुरु भई सोही दिन घान्द्रुकमा सम्पन्न हुने सो म्याराथनमा भागलिन पांउदा आफू निकै खुशी र उत्साहित रहेको ५० वर्षीया अन्जु सिग्देलले बताइन् ।
गत वर्ष एभरेष्ट म्याराथनमा दौडिएर बादी बालबालिकाका लागि ५ लाख रुपैयां सहयोग गरेकी अन्जुले यसपाली त्यस्तो च्यारिटी भने नराखेको बताइन् ।
महिलालाई म्याराथनमा भाग लिन प्रेरित गर्ने र महिला स्वास्थ्यमा खेलकुद, दौड जस्ता शारिरीक व्यायामले पुग्ने फाइदाबारे आम महिलामा चेतना जगाउने जमर्को आफूले गर्न चाहेको अन्जु बताउंछिन् ।
आंटेमा महिलाहरुले पनि गर्न नसक्ने केही छैन भन्ने सन्देश दिन चाहन्छिन् उनी ।
अन्जुले हालसम्म लन्डन, बर्लिन, न्यूयोर्क, बोस्टन, सिकागोसहित १२ वटा म्याराथन सकिसकेकी छन् भने आउंदो वर्ष टोकियो म्याराथनमा सहभागी भई विश्वका टप ६ म्याराथन पुरा गर्ने लक्ष्य राखेकी छन् ।
सन् २०१८ नोभेम्बरदेखि दौड्न शुरु गरेकी उनले ५ के, टेन के रन र केही हाफ म्याराथन गरेपछि सन् २०२० बाट फुल म्याराथन शुरु गरेकी थिइन् ।
लायन्स् क्लब अफ नारायणगढ र नेपलिज कम्युनिटी यूके सदस्य अन्जु बेलाबेला च्यारिटी कर्ममा पनि सहभागी हुंदै आएकी छन् ।