शनिबार, कार्तिक १०, २०८१
18:21 | २३:०६

साझा नेपाली समाजको च्यारिटीमा जुटाइयो ६ लाख, सहयोग जाजरकोट पठाइने

नेपाली लिङ्क मे २८, २०२४


लन्डन- करिब ६ महिनाअघि जाजरकोटमा गएको भूकम्पबाट भत्किएका स्कुल र स्वास्थ्य चौकी पुननिर्माणमा सघाउन बेलायतमा कोष संकलन गरिएको छ।

बेलायतको मिडल्यान्डस्थित साझा नेपाली समाज यूकेको आयोजनामा सोमबार साँझ लेष्टरको मार्केट हार्वोरो टाउनमा रहेको अवतार रेस्टुरेन्टमा आयोजित च्यारिटी कार्यक्रममा झण्डै ६ लाख रुपैंया जुटाइएको हो ।

च्यारिटी डिनर साँझबाट संकलित २ हजार ८ सय ४ पाउण्ड कार्यक्रमका संयोजक एवम् साझा नेपाली समाजका सचिव सुरेश केसीले समाजका ट्रस्टी दयानिधि सापकोटा र महासचिव शशांक शर्मालाई हस्तान्तरण गरेका छन् ।

महासचिव शर्माले उक्त रकमबाट जाजरकोटमा भत्किएको कम्तिमा एउटा स्कुल वा स्वास्थ्य चौकीको पुननिर्माण गरिने बताए।

नेपाली समुदायको भन्दा बढी स्थानीय बेलायती समुदायको सहभागिता रहेको च्यारिटी डिनर साँझमा उपस्थित सबैलाई समाजका ट्रष्टी दयानिधि सापकोटा र अध्यक्ष दीपक सापकोटाले धन्यवाद व्यक्त गरेका थिए ।

कुनै औपचारिकताबिना भिन्न रूपले आयोजित शुद्ध च्यारिटी डिनर सांझमा प्रस्तुत विद्यालय र हेल्थपोस्टका तस्बिरले उपस्थित सबैजनालाई भावुक बनाएको थियो । च्यारिटी सहयोगका लागि डिनरमा सहभागी अवतार रेष्टुरेन्टका नियमित ग्राहकहरु समेत निकै भावुक बनेका थिए ।

कार्यक्रममा राफल ड्रबाट ६ सय ५० पाउण्ड सहयोग संकलन गरिएको थियो भने विजेताहरूलाई नेपाली सामग्री मायाको चिनो उपहार दिइएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार केशव भण्डारी, बलराम चापागाईं, राजेशमणि लामिछाने, यार्डली शोलिहल नेपाली परिवारका अध्यक्ष गोकर्ण हुमागाई, गोविन्द सापकोटा, प्रकाश कंडेल, श्रृजनशिल लेष्टर नेपालका अध्यक्ष पुन्डरी अर्याल, नटिंघम नेपाली समाजका अध्यक्ष रामप्रसाद पन्थी, सुरेश पौडेल लगायतको उपस्थितिे थियो ।

कार्यक्रम सफल बनाउन अवतार डाइनिंग रेस्टुरेन्टका सञ्चालक सुरेश केसी, एन्जी शाही लगायत सम्पूर्ण स्टाफको सक्रिय सहयोग थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू