शनिबार, मंसिर ८, २०८१
11:45 | १७:३०

बेलायती प्रधानमन्त्री सुनकलाई नेपालको विश्वकप क्रिकेट जर्सी उपहार

नेपाली लिङ्क मे २१, २०२४

लन्डन- बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपालको टी-ट्वान्टी विश्वकप क्रिकेट जर्सी उपहार दिइएको छ ।

नेपाल-बेलायत मैत्री सन्धीको शतवार्षिकीका अवसरमा टेन डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा सोमबार साँझ आयोजित विशेष समारोहका बेला सुनक नाम अंकित १० नम्बरको नेपाली जर्सी उनलाई हस्तान्तरण गरिएको हो ।

नेपाली क्रिकेट विकासका लागि पहल गर्दै आएका लन्डनस्थित ट्रेड एण्ड इन्भेस्टमेन्ट कन्सल्टेन्ट प्रशान्त कुंवरले बेलायती प्रधानमन्त्रीलाई नेपाली जर्सी उपहार दिएका हन् । सो अवसरमा चर्चित अभिनेत्री मनिषा कोइराला समेत साथमै थिइन् । 

नेपाली क्रिकेट जर्सी ग्रहण गर्ने क्रममा खुशी व्यक्त गर्दै बेलायती प्रधानमन्त्री सुनकले आफू क्रिकेटको ठूलो फ्यान रहेको बताएका थिए । उनले नेपाली क्रिकेट भावी दिनमा थप सफल बन्दै जाने शुभेच्छा पनि प्रकट गरेका थिए । 

नेपाली क्रिकेट प्रवर्धनको लक्ष्य राखेर बेलायती प्रधानमन्त्रीलाई जर्सी उपहार दिएको कुंवरले बताए ।

‘दुई देशबीचको मैत्री सन्धीको शतवार्षिकी मनाउने समारोह बेलायती प्रधानमन्त्रीलाई नेपालको आगामी महिना हुने विश्वकपको जर्सी उपहार दिन उपयुक्त अवसर लाग्यो’, उनले भने, ‘यसबाट नेपाल पनि क्रिकेट खेल्छ र अहिले विश्वकप समेत खेल्दैछ भन्ने सन्देश प्रवाह गर्न पनि सहयोग पुग्नेछ भन्ने विश्वास छ ।’

यसअघि सन् २०१६ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पहिलोपटक बेलायत ल्याएर लर्ड्समा एमसीसी क्लबसंग क्रिकेट खेलाउनमा पनि कुंवरको पहल थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू