बुधबार, पुष १०, २०८१
15:35 | २१:२०

बेलायती प्रधानमन्त्रीबाट १० डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधन

नेपाली लिङ्क मे २०, २०२४

लन्डन—बेलायती प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिटस्थित आफ्नो सरकारी कार्यालयमा नेपाली समुदायलाई सम्बोधन गरेका छन् ।

नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सोमबार साँझ आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहंदै आएको बताए ।

द्विपक्षीय सम्बन्धको प्रमुख कडीका रुपमा ब्रिटिश गोर्खाहरुको योगदानको चर्चा गर्दै उनले गोर्खा सैनिकहरुको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गरे ।

बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमण स्मरण गर्दै प्रधानमन्त्री सुनकले दुई देशबीचको मैत्री सम्बन्ध विशेष रहेको उल्लेख गरे ।

उनले बेलायतस्थित नेपाली डायस्पोराको काम र उपलब्धिहरुबाट आफू प्रेरित भएको पनि बताए ।

बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने प्रधानमन्त्री सुनकले जनाए ।

त्यसअघि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गरेका थिए । उनले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

उनले बेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाद दिंदै आगामी १०० वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध थप क्षेत्रहरुमा विस्तार तथा सुदृढ बन्ने विश्वास व्यक्त गरे।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्याउने बताइन् ।

कार्यक्रममा करिब एक सयको संख्यामा बेलायतस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपाली समुदायका प्रतिनिधि, भूतपूर्व गोर्खाहरु, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरु एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति थियो।

व्यस्त तालिकाबीच नेपाली समुदायलाई सम्बोधन गर्न आएका प्रधानमन्त्री सुनकलाई राजदूत ज्ञानचन्द्र आचार्य र समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेले माला र खादाले स्वागत गरेका थिए ।

नेपाल तथा बेलायतबीच मैत्री सन्धी हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भए अनुसार नेपाली समुदाय समेतको सहयोगमा यो समारोह सम्पन्न भएको लन्डन दूतावासले जनाएको छ ।

समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने, युवा अभियन्ता प्रशान्त कुंवरदेखि नेपाली मूलका बेलायती काउन्सिलरहरु समेतले यो कार्यक्रमका लागि पहलका साथै आयोजनामा पनि सहयोग पु्रयाएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू