शुक्रबार, पुष १२, २०८१
03:45 | ०९:३०

नयाँ वर्षका दिन मुलुकभर उत्सवमय वातावरण

रासस अप्रिल १३, २०२४


काठमाडौँ, वैशाख १– नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् । 

नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् । 

आज बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपति मन्दिरलगायत देवस्थलमा पूजाआजा र दर्शन गर्नेको घुइँचो देखिएको छ ।

भृकुटीमण्डप खेल उद्यान र विभिन्न उद्यान, सपिङ मल तथा रेष्टुराँमा चहलपहल बढेको छ ।

आजैदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ खुला हुने घोषणाका कारण त्यस क्षेत्रमा उत्साह छाएको छ ।

नयाँ शैक्षिकसत्र सुरु हुन बाँकी रहेकोले परिवारसहित घुमफिर गर्ने धेरै देखिएका छन् ।

नयाँ वर्षका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेले बाँडे मिठाई

नयाँ वर्षकै अवसरमा आज बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सडकबाट वर्षको सुरुआत गरेका छन् ।

उनले आज बिहान थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गरे।

सो अवसरमा उनले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू