शनिबार, मंसिर ८, २०८१
12:56 | १८:४१

नेपाल र इंग्ल्याण्डबीचको ऐतिहासिक फुटबल सफल बनाउन दूतावासमा छलफल

नेपाली लिङ्क मार्च २६, २०२४


लन्डन- नेपाल र इंग्ल्याण्ड ‘सी’बीच आगामी मे ६ तारिख हुन लागेको ऐतिहासिक फुटबल खेलको तयारीबारे लन्डन दूतावासमा छलफल भएको छ।

खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम र खेल प्रवर्द्धनमा जुटेका नेपाली समुदायका अगुवाहरु मंगलबार दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यसंग छलफल गरेका हुन् ।

खेलका लागि नेपाली समुदायको तर्फबाट संयोजक कमल कोने गुरुङका अनुसार दूतावासमा भएको छलफल नेपाल र इंग्ल्यान्डबीचको ऐतिहासिक फुटबल खेललाई कसरी सफल र भव्य बनाउने भन्नेमा केन्द्रित थियो ।

त्यस अवसरमा अल्डरसट एफसी अध्यक्ष साहिद अजिमले दुई देशबीचको ऐतिहासिक खेल सफल पार्न राजदूत आचार्यसमक्ष दूतावासको सहयोगका लागि आग्रह गरेका थिए । उनले नेपालको राष्ट्रिय टीमलाई पहिलोपटक बेलायत उतार्ने आफ्नो सोचका साथै खेलको पृष्ठभूमि र लक्ष्यबारे समेत जानकारी गराए ।

जवाफमा राजदूत आचार्यले ऐतिहासिक खेलका लागि अल्डरसट टाउन फुटबल क्लबका तर्फबाट भएको पहलका लागि धन्यवाद दिए । खेल सफल पार्न दूतावासको संयन्त्रबाट सम्भव हरेक सहयोगको प्रतिवद्धता उनले गरे ।

संयोजक कमल कोने गुरुङका अनुसार उक्त खेलमा सहभागिताको लागि दूतावासले बेलायतस्थित सबै संघसंस्थालाई आव्हान गर्ने भएको छ । त्यस्तै, राजदूत आचार्यले एक भिडियो सन्देश बनाएर खेल हेर्न आउन सबैलाई अपील गर्ने भएका छन् ।

सोहि अवसरमा अल्डरसट एफसी अध्यक्ष अजिमले खेल हेर्न दिएको निमन्त्रणा पनि राजदूत आचार्यले सहर्ष स्वीकारेका छन् ।

उनीहरुबीच भावी दिनमा इंग्ल्याण्ड र नेपाल फुटबलबीच हुन सक्ने सहकार्य तथा साझेदारीका अन्य सम्भावना र नेपाली खेलाडीहरुका लागि इंल्याण्डमा मिल्न सक्ने अवसरहरुबारे पनि छलफल गरिएको थियो ।

छलफलमा राजदूत आचार्य र अल्डरसट एफसी अध्यक्ष अजिमसंगै दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, खेलका लागि नेपाली समदायका संयोजक कमल कोने गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार एवम् एनसीसी यूके पूर्व अध्यक्ष सुर्य गुरुङ, एनआएनए आइसीसी सदस्य दिलरास गुरुङको सहभागिता थियो ।

आगामी मे ६ तारिख सोमबार बैंक होलिडेका दिन अल्डरसट टाउन फुटबल क्लब मैदानमा नेपाल र इंग्ल्याण्डबीच ऐतिहासिक खेल हुंदैछ ।

यो पनि पढौं: नेपाल र इंग्ल्याण्डबीचको ऐतिहासिक खेल हेर्ने टिकट विक्री खुला

यो पनि पढौं: इंग्ल्याण्डसंग खेल्न बेलायत आउँदै नेपाली फुटबल टीम, मे ६ मा हुनेछ ऐतिहासिक खेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू