शनिबार, कार्तिक १०, २०८१
18:34 | २३:१९

मेयर रेनु दाहालकासाथ एनआरएनए यूकेको अन्तर्राष्ट्रिय नारी दिवस

नेपाली लिङ्क मार्च ७, २०२४

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एक विशेष कार्यक्रमसहित ११४ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ।

अल्डरसटस्थित एम्पायर हलमा मंगलबार साँझ आयोजित कार्यक्रममा प्रमुख अतिथि थिइन् भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ।

कार्यक्रमलाई सम्बोधन गर्दै दोश्रो पटक मेयर निर्वाचित दाहालले नेपाली समाजमा पनि महिलामाथि विगत जस्तो भेदभाव नरहेको र महिलाहरु सशक्त रुपमा अगाडि बढ्दै गएको बताइन् ।

उनले आफ्नो महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने घोषणा गरेको जनाउंदै बेलायतवासी नेपालीलाई भरतपुर घुम्न आउन अनुरोध गरिन् ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए आइसीसी पूर्व अध्यक्ष कुल आचार्य, उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए यूके महिला संयोजक रेजिना गुरुङ, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष शम्भुप्रसाद अर्याल लगायतले विश्वभरका नारीहरूप्रति शुभकामना दिएका थिए ।

वक्ताहरुले नारी पुरुष एकसाथ अगाडि बढेमात्र समृद्ध समाज र राष्ट्र बन्न सक्ने औंल्याए । उनीहरुले महिला सशक्तिकरणमा पनि जोड दिएका थिए ।

सो अवसरमा केक काटेर एनआरएनए यूके स्थापनाको १९ औं वार्षिकोत्सव पनि मनाइएको थियो ।

कार्यक्रम सञ्चालन गर्दै महासचिव गोविन्द खरेलले संघका गतिविधि र भावी कार्यक्रमबारे संक्षिप्त रुपमा अवगत गराएका थिए । खरेलले कार्यक्रमले महिलाहरूको उपलब्धि उजागर मात्र होइन्, यूके नेपाली डायस्पोरामा एकता र सशक्तिकरणलाई बढावा दिने काम गरेको पनि बताए ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले छोटो समय बाबजुद पनि कार्यक्रममा सहभागी भइदिएकामा मेयर दाहाल, उपनियोग प्रमुख खनालसहित सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष सपना खनियाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा एनआरएनए युरोप महिला संयोजक प्रसुना कँडेल, एनआरएनए आइसीसी सह–कोषाध्यक्ष अमृता थापा (कञ्चन) लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू