बिहीबार, पुष ११, २०८१
00:59 | ०६:४४

बेलायती सांसद र अध्यक्ष गुरुङको छलफल: गोर्खाका समस्या मुख्य एजेण्डा

नेपाली लिङ्क जुलाइ १७, २०२०

लण्डन । कोरोना महामारीबाट बेलायतको नेपाली समुदायमा परेको असर र अफ्ठेरोमा परेका नेपालीको सहयोगका विषयमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले एक बेलायती सांसदसंग छलफल गरेकी छन् ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मरिया मिलर र अध्यक्ष गुरुङबीच विहीबार ‘भर्चुअल’ माध्यमबाट भएको छलफल मुख्यगरी भूतपूर्व गोर्खा समुदायले भोगेको समस्यामा केन्द्रित थियो ।

कोरोना महामारीबाट बेलायतको नेपाली समुदायमा सबैभन्दा बढी पूर्व गोर्खा र तिनका परिवारका वृद्धवृद्धाहरु प्रभावित बनेको अपडेट अध्यक्ष गुरुङले सांसदलाई गराएकी थिइन् ।

‘बेलायत सरकार र एनएचएसबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी सन्देश तथा जानकारीहरु नेपाली भाषामा उपलब्ध नभएको र धेरै नेपाली वृद्धवृद्धाले अंग्रेजी बुझ्न नसक्ने कारण समस्या भएको जानकारी मैले उहाँलाई गराए’, अध्यक्ष गुरुङले भनिन्, ‘अन्य कयौं अल्पसंख्यक समुदायको भाषामा जस्तै नेपाली भाषामा पनि सरकारी सूचनाहरु प्रकाशन गर्ने व्यवस्थाका लागि पहल गरिदिन मैले आग्रह गरेकी छु ।’

गोर्खाहरुले बेलायती सेनामा पुर्याएको ऐतिहासिक योगदानको कदरकै लागि पनि उनीहरुले बुझ्ने भाषामा सूचनाहरु प्रकाशन गर्नुपर्ने धारणा अध्यक्ष गुरुङले राखेकी थिइन् ।

त्यसक्रममा सांसद मिलरले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्याको उचित सम्बोधनका लागि आफूले बेलायती संसदमै कुरा उठाउने आश्वासन दिइन् ।

एनआरएनए यूके अध्यक्ष गुरुङले महामारीका कारण बेलायतको सिंगो नेपाली समुदायमा परेको असर, एनआरएनए यूकेसहित यहाँको नेपाली समुदायबाट भइरहेका सहयोगका कार्यहरुबारे जानकारी गराएकी थिइन् । सांसद मिलरले पनि हालै अमेरिकामा जर्ज फ्लोइडको मृत्युपछि जातीय भेदभावको मुद्धा चर्किरहेको सन्दर्भमा बेलायतमा नेपाली समुदायले गरेको अनुभवबारे जिज्ञासा राखेकी थिइन् ।

बेलायतको राजनीतिका साथै प्रहरी, प्रशासन लगायत महत्वपूर्ण क्षेत्रमा नेपाली समुदायको उपस्थिति न्यून रहेको भन्दै उनले आफ्नो समुदायको आवाज प्रभावकारी रुपमा सम्बन्धित ठाउँसम्म पुर्याउन पनि समुदायको सहभागिता बढ्नुपर्ने सुझाव दिएकी थिइन् ।

छलफलमा बेजिङस्टोक नेपाली कम्युनिटीका अध्यक्ष ओम गुरुङले बेजिङस्टोक क्षेत्रका नेपालीको अवस्थाबारे अपडेट गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू