गोपीकृत स्तुति
पृष्ठभूमिः
यो स्तुत्ति श्रीमद्भागवतको दशम स्कन्ध, उनन्तीसौं अध्यायमा छ। प्रेम लक्षणा भक्तिको चर्चाको क्रममा गोपीहरुको यो स्तुति चर्चा गरिंदै छ।
ऐले कृष्ण सात वर्षको हुनुहुन्छ। वृन्दावनकै लीलाको क्रममा, मल्लिका (जाइ फूल) ले सुभाषित शरद ऋतुको पूर्णिमाको रात आफ्नो योगमायाद्वारा आफूले (वस्त्रहरणको वेला गरेको प्रतिज्ञा अनुरुप) भगवानले गोपीहरु सँग प्रेमभाव सप्रकट गर्ने विचार गर्नु हुन्छ।
लामो समयसम्म पर रहेका प्रेमी पति फर्केर आफ्नी प्रेयसी पत्नीको अनुहारमा रातो कुम्कुम (खुशीको लालिमा, सिन्दुर ) ले मुख सजाए जसरी, हेर्नेहरुको पीडा बिर्साउने (आनन्द विभोर तुल्याउने) चन्द्रमा सुखदायक रातो रंग पोतेर पूर्वबाट झुल्किन्छन्।
मोहन महनीय लाग्ने लक्ष्मीजीको अनुहार झैँ सिन्दुर छरेको जस्ता राता राता रंग महनीय लाग्ने देख्नु हुन्छ चन्द्रमाको। चन्द्रमाको आगमनमा कमलपत्र फक्रिंदै गरेको देख्नु हुन्छ। अनि बजाउनु हुन्छ सुनयना गोपीहरूको मन हर्ने वाँसुरी।
त्यो सुनेर व्रज सुन्दरी आकृष्ट हुन्छन्, आफ्ना कानका कुण्डल पल्लवित भइ रहन्छन् उनीहरु सुर बेसुरमा आफ्ना प्रिय सखा भएतिर दौड्दा। यति धेरै महनीय लाग्छ त्यो धुन कोहि गोपी हरुलाई। कोहि गाइ दुहुँदा दुहुँदै छोडेर, कोहि उम्लिंदै गरेको दुध छोडेर, कोहि तावा माथिको रोटी यत्तिकै छोडेर दौडिए। कोहि लुगा लगाउंदै थिए, कोहि आफ्ना वाल–वालिकालाई दुध चुसाउंदै थिए, कोहि भोजन गर्दै थिए, कोहि ऋंगार गर्दै थिए, कोहि गाजल लाउँदै थिए, जे जस्तो थियो त्यस्तै छोडेर दौडिए गोपीहरु।
शुकदेवजी भन्नुहुन्छः
उनीहरुको हृदय गोविन्दले अपहरण गरि सक्नु भएकाले मोहित (गोपीहरु) आफ्ना पति, पिता, दाजु भाइ वन्धु वान्धवले रोक्दा पनि फर्केनन्। यथाः
ता वार्यमाणाः पतिभिः पितृभिर्भ्रातृबन्धुभिः ।
गोविन्दापहृतात्मानो न न्यवर्तन्त मोहिताः ।। १०ः२९ः८।।
कोहि गोपीहरु घरैमा रहे तर उनीहरु आँखा चिम्लेर कृष्ण भावनामा मग्न रहे (ध्यान गरि रहे) । विरहको तापले उनीहरुको हृदयका अशुभ भावहरु पखालिएर मंगल भाव प्राप्त गरे। ध्यानले उनीहरुले उनीहरुको प्रियको आलिङ्गनको अनुभव गरे र त्यसको आनन्दमा परमात्माको चिन्तन गर्दै उनको संगतिमा रहदा माया–वन्धनबाट विमुक्त भए।
गोपीहरुले कृष्णलाई, परमात्माको रुपमा होइन, आफ्नो प्रेमीको रुपमा हेर्थे अनि कसरी ति मायाका बन्धनबाट मुक्त भए भन्ने महाराज परिक्षितको यक्ष प्रश्नको उत्तर दिंदै शुकदेवजी हामी सबैलाई बुझाउनु हुन्छ; भगवानप्रति द्वेष भाव राख्ने शिशुपालले त सिद्धि प्राप्त गरयो भने भगवानका प्रिय भक्त (गोपी) हरुले त त्यस्तो प्राप्त नगर्ने कुरै भएन ! किनभने, उहाँ अझ व्याख्या गर्नु हुन्छः काम क्रोध, भय भाव, स्नेह, सुहृद अथवा हरिप्रति प्रीति भाव राख्नेहरुले तन्मयतापूर्वक हरि प्रति लिन भइरहेका हुन्छन्। यथाः
कामं क्रोधं भयं स्नेहमैक्यं सौहृदमेव च ।
नित्यं हरौ विदधतो यान्ति तन्मयतां हि ते ।। १०ः२९ः१५।।
हरि प्रतिको तन्मयता हरि प्रति जुन भावमा भए पनि त्यो हरि प्रतिको भक्ति हो। हामीलाई शुकदेवजी त्यै बुझाउने कृपा गर्नु हुन्छ। त्यसैले गोपीहरु भक्त हुन् किनभने उनीहरु प्रेम भावमा हरिलाई स्मरण गर्दछन्। त्यो गोपीभावको भक्ति हो।
त्यस्ता गोपीहरु वाँसुरीको मोहक ध्वनीको आमन्त्रणमा राति त्यहां पुगेपछि, भगवानले स्वागत गर्दै भन्नु भयो, हे भाग्यशाली म तिमीहरुको खुशीको निम्ति के गरौं, व्रजमा सबै राम्रै होला नि, तिमीहरु किन आयौ, यो डरलाग्दो रात्री समयमा डरलाग्दा पशुहरु विचरण गरिरहेका हुन्छन्, त्यसैले तिमीहरु घर फर्क, यो स्त्रीहरुको निम्ति उपयुक्त ठाउँ होइन।
तिमीहरुलाई नदेखेर तिमीहरुका बा–आमा, छोरा,दाजु–भाइ तिमीहरुलाई खोजिरहेका होलान्। चिन्तित होलान्, परिजनमा त्यस्तो गराउनु हुंदैन। तिमीहरुले चन्द्रमाको उज्यालोमा फुलै फूलको वृन्दावन देख्यौ, यमुनाबाट आएको मृदु हावामा पल्लवित पातसहित रुखका सुन्दरता देख्यौ, त्यसैले ए स्वाध्वीहरु तिमीहरु गोठ फर्क, रुंदै गरेका बालबालिकाहरु र बाछाहरुलाई दुध खुवाउ।
तिमीहरु म माथिको तिमीहरुको स्नेहको कारणले आफ्नो हृदय सम्हाल्न नसकेर आएका होलाउ। त्यो निकै उपयुक्त पनि हो, सबै जीवमा मप्रति स्वाभाविक स्नेह हुन्छ। आफ्नो परिवारप्रति उनीहरुको कर्तव्य पनि सम्झाउनु हुन्छ भगवान। उनीहरुको प्रतिष्ठामा आँच आउन सक्छ भन्नु हुन्छ। भक्तिको तरिका सान्निध्य होइन भन्ने भावमा भगवान भन्नु हुन्छः श्रवण, दर्शन, धयान र किर्तनले मात्र भक्ति प्राप्त हुन्छ भौतिक सान्निध्यले प्राप्त हुंदैन, त्यसैले घर फर्क! यथाः
श्रवणाद् दर्शनाद्ध्यानान्मयि भावोऽनुकीर्तनात् ।
न तथा सन्निकर्षेण प्रतियात ततो गृहान् ।। १०ः२९ः२७ ।।
गोपीहरु के सुन्थे गोविन्दका यी मन नपर्ने वचन! उनीहरु दुःखी हुन्छन्। शिर निहुराएर उभिन्छन्, शुष्क स्वास प्रश्वासले उनीहरुका ओठ सुकेर राता हुन्छन्, र खुट्टाले जमिन कोट्याउंछन्, गाजलयुक्त काला अश्रुधारा बगाउंछन्, र सिन्धुर बगेर बक्षस्थल रंगाउछ। मौन भएर उभिइरहन्छन्, दुःखित भावमा ।
कृष्ण उनीहरुका प्रिय हुनुहुन्थ्यो, त्यसैले सबै थोक छोडेर आएका थिए, मन नपर्ने वचन बोले पनि उनीहरुको अनुरक्ति उस्तै रह्यो कृष्णप्रति, उनीहरुले आँशु पुछे, रुन छोडे, र भक्कानिएर बोल्न थाले। तलको स्तुति त्यै हो।
श्लोक र अर्थः
गोप्य ऊचुः
मैवं विभोऽर्हति भवान् गदितुं नृशंसं
सन्त्यज्य सर्वविषयांस्तव पादमूलम् ।
भक्ता भजस्व दुरवग्रह मा त्यजास्मान्
देवो यथादिपुरुषो भजते मुमुक्षून् ।। ३१ ।।
(एउटा समूहकी गोपीले भनिन् ) हे विभो! हजुरले यस्तो निष्ठुरी वचन बोल्नु उचित हुदैन। हे जित्न खोज्ने (जे मनलाग्यो त्यै गर्न खोजने)! हजुरले त हामीलाई यसरी ग्रहण गर्नु पर्ने हो जसरी आदिपुरुषले मुमुक्षुहरुलाई ग्रहण गर्नु हुन्छ, किनभने हामीहरु सबै विषय वासना छोडेर हजुरको चरणकमलको भजन गर्दछौं।
यत्पत्यपत्यसुहृदामनुवृत्तिरङ्ग
स्त्रीणां स्वधर्म इति धर्मविदा त्वयोक्तम् ।
अस्त्वेवमेतदुपदेशपदे त्वयीशे
प्रेष्ठो भवांस्तनुभृतां किल बन्धुरात्मा ।। ३२ ।।
हे धर्मका ज्ञाता, हजुरले भन्नुभयो ‘पति, पुत्र, सम्वन्धिको सेवा गर्नुस्त्रीको धर्म हो ’। यी सवै सेवा हजुरकै किन नगर्ने? किनभने हजुर शरीरधारीको प्रिय हुनुहुन्छ। (पति पुत्र आदिमा पनि त अन्तर्यामी स्वरुपमा हजुर नै त हुनुहुन्छ नि भन्ने भाव हो)।
कुर्वन्ति हि त्वयि रतिं कुशलाः स्व आत्मन्
नित्यप्रिये पतिसुतादिभिरार्तिदैः किम् ।
तन्नः प्रसीद परमेश्वर मा स्म छिन्द्या
आशां धृतां त्वयि चिरादरविन्दनेत्र ।। ३३ ।।
(त्यै भनाइलाई दृढतापूर्वक अगाडि बढाउंदै भन्छिन्;) शास्त्रज्ञ नीतिप्रियहरु आत्म–स्वरुप हजुरमा प्रीति राख्छन्। यो संसारका दुःखादी कारण (गृह–आदि) पति–पुत्रादीको के प्रयोजन छ। यस कारण हे अरविन्दनेत्र (सूर्यजस्तै नयन भएका), लामो समय सम्म हजुरसँग क्रीडागर्ने आशा लिएर बसेका हामीलाई निराश नबनाउनु होस् !
चित्तं सुखेन भवतापहृतं गृहेषु
यन्निर्विशत्युत करावपि गृह्यकृत्ये ।
पादौ पदं न चलतस्तव पादमूलाद्
यामः कथं व्रजमथो करवाम किं वा ।। ३४ ।।
(अर्को समूहको गोपी भन्छिनः) हाम्रो चित्त घरकै काममा लागि रहेको थियो, हजुरले हाम्रो चित्त र हात सजिलै चोर्नु भयो। अब हाम्रा खुट्टा हजुरका चरणबाट एक कदम पनि हिंड्दैनन्। हामी कसरी ब्रज फर्किने यस्तो अवस्थामा? त्यहाँ हामीले के गर्ने ?
सिञ्चाङ्ग नस्त्वदधरामृतपूरकेण
हासावलोककलगीतजहृच्छयाग्निम् ।
नो चेद्वयं विरहजाग्न्युपयुक्तदेहा
ध्यानेन याम पदयोः पदवीं सखे ते ।। ३५ ।।
हे कृष्ण (अङ्ग) हास्य सहितको कटाक्ष र वाँसुरीको मधुर गीतले हाम्रो हृदयमा हजुरसँग (समागम हुने इच्छारुपी) अग्नि प्रकट भयो, हजुरले त्यसलाई हजुरको अधरामृत बाट शान्त गराउनुस्। यदि हजुरले त्यसो गर्नु भएन भने, सखा !, विरहजन्य अर्को अग्निद्वारा हाम्रो शरीर भष्म गर्दिन्छौं, अनि (योगीहरुले जस्तै) ध्यानद्वारा हजुरको चरणकमल प्राप्त गर्छौँ।
यर्ह्यम्बुजाक्ष तव पादतलं रमाया
दत्तक्षणं क्वचिदरण्यजनप्रियस्य ।
अस्प्राक्ष्म तत्प्रभृति नान्यसमक्षमञ्जः
स्थातुं स्त्वयाभिरमिता बत पारयामः ।। ३६ ।।
(तेश्रो समूहका गोपीहरु, जो कात्यायनिका आराधना गर्ने हुनुपर्छ, भन्छन्ः) हे कमलनयन (अम्वुजाक्ष) जव हामीले (यमुनातिर मा) व्रज (अरण्य) वासीका प्रिय हजुरका चरणकमल, जो तुलसी लगायत लक्ष्मीलाई पनि कुनै समयमा मात्र प्राप्त हुन्छ, हामीले स्पर्श गरेर आनन्द प्राप्त गरयौं, त्यै बेला देखि हामी अरु अगाडि उभिन हामी समर्थ छैनौं (अरुको कल्पना पनि गर्दैनौँ, भन्ने भावमा)।
श्रीर्यत्पदाम्बुजरजश्चकमे तुलस्या
लब्ध्वापि वक्षसि पदं किल भृत्यजुष्टम् ।
यस्याः स्ववीक्षण उतान्यसुरप्रयास–
स्तद्वद् वयं च तव पादरजः प्रपन्नाः ।। ३७ ।।
(हजुरको चरणकमलको सेवा अति विचित्र छ भन्ने भावमाः) जुन लक्ष्मीजीको कृपाकटाक्ष प्राप्त गर्न देवताहरु ठूलो तप गर्छन्, उनी (लक्ष्मी) निर्वाध रुपमा हजुरको वक्षस्थलमा वस्न पाउँदा पनि तुलसीसहित हजुरका सेवक गणद्वारा सेवित चरणरजको आकाक्षा राख्दछिन्। उनी जस्तै हामी पनि हजुरको चरणरजको शरणमा आयौं।
तन्नः प्रसीद वृजिनार्दन तेऽङ्घ्रिमूलं
प्राप्ता विसृज्य वसतीस्त्वदुपासनाशाः ।
त्वत्सुन्दरस्मितनिरीक्षणतीव्रकाम–
तप्तात्मनां पुरुषभूषण देहि दास्यम् ।। ३८ ।।
(चौथो समूहकी गोपी भन्छिनः) हे दुःखनाशक (वृजिनार्दन)! हजुरको उपासना गर्ने आशा राख्दै हामी घर छोडेर (योगी जस्तै) हजुरको चरणकमल छेउमा आइपुगेका छौं। हजुरको सुन्दर हाँसो सहितको कटाक्षले हाम्रो अन्तस्करण तीव्र इच्छाले उत्तप्त छ, त्यसैले, हे पुरुषभुषण!, हामीलाई दासी बनाउनुस् (देहि दास्यम), अर्थात्, शरणागत वनाउनुस।
वीक्ष्यालकावृतमुखं तव कुण्डलश्री–
गण्डस्थलाधरसुधं हसितावलोकम् ।
दत्ताभयं च भुजदण्डयुगं विलोक्य
वक्षः श्रियैकरमणं च भवाम दास्यः ।। ३९ ।।
(घरको स्वामित्व छोडेर किन दासत्व लिनु पर्यो? उनीहरुको विचार यस्तो छ)
हजुरका मुखमंडल बट्टारिएका कपालले आवृत छ, गाला कुण्डल झुण्डिएर शोभायमान छ, अधर भरि अधरामृत छ, हेराइ हसिँलो छ, , त्यो मुखामंडलको स्वरुप र भक्तहरुलाई अभय प्रदान गर्ने हात र सौन्दर्यले आनन्द दिने हजुरका श्री (लक्ष्मी) रमण गर्ने वक्षस्थल देखेर हामी हजुरका दासी भएका छौं अर्थात्, शरणागत भएका छौं ।
का स्त्र्यङ्ग ते कलपदायतवेणुगीत–
सम्मोहितार्यचरितान्न चलेत्त्रिलोक्याम् ।
त्रैलोक्यसौभगमिदं च निरीक्ष्य रूपं
यद् गोद्विजद्रुममृगाः पुलकान्यबिभ्रन् ।। ४० ।।
हे कृष्ण (अङ्ग अर्थात प्रिय )! त्रिभुवनमा को यस्तो स्त्री छ जो हजुरको मधुर पदका वेणुगीत सुनेर र त्रिलोककै अत्यन्त सुन्दर हजुरलाई देखेर आफ्नो गृहस्थ आदि छोडेर हजुरकोमा आउंदैन ? हजुरको वेणु गीत सुनेर र स्वरुप देखेर गौ, पक्षी, वृक्ष र हरिणी त रोमाञ्चित हुन्छन्।
व्यक्तं भवान् व्रजभयार्तिहरोऽभिजातो
देवो यथादिपुरुषः सुरलोकगोप्ता ।
तन्नो निधेहि करपङ्कजमार्तबन्धो
तप्तस्तनेषु च शिरःसु च किङ्करीणाम् ।। ४१ ।।
हे आर्तवन्धो! हजुर आदि पुरुष हो। जसरी देवलोकको रक्षागर्न (उपेन्द्र आदिको रुपमा) अवतरित हुनुभयो, त्यसैगरि व्रजको (भय) दुख हरण गर्न अवतरित हुनुभयो। त्यसैले हामी दासीहरुका सन्तप्त (पीडायुक्त) वक्षस्थल (हृदय) र शिरमा हजुरका कराकमल राख्नु होस्।
संक्षिप्त व्याख्याः
फेरी स्मरण गरौँ, भगवान कृष्णको उमेर यो कथाप्रसंगमा हुँदा सात वर्षको छ। त्यसैले भगवान श्रीकृष्णका वालसुलभ गुणहरु देखिन्छन्, र गोपीहरुको वालकृष्ण सँगको आकर्षण एकजना सुन्दर वालकसंगको स्नेहको रुपमा छ। वालसखाको भावमा सम्बोधन गरे पनि गोपीहरु श्रीकृष्णको भगवत्ता बुझ्दछन्, त्यसैले तदनुरुपनै स्तुति गर्दछन्। यै स्तुतिमा पनि यस्तो देखिन्छ। जस्तै, गोपीहरु भन्छन्, हामी मुमुक्षु हौँ, अर्थात् हामी मोक्षको कामना गर्दैछौ, त्यसैले हामी शरणागत भइरहेका छौँ। त्यसैले निष्ठुरी जस्तै किन हामीलाई घर फर्कन आग्रह गरिंदै छ ?
घर परिवारप्रतिको कर्तव्य र सम्मानको कुरा गर्दै भगवान श्रीकृष्ण जब फर्किन आग्रह गर्नु हुन्छ, उनीहरु प्रष्टै सँग भन्छन्, भगवान सबैका प्रिय हुनुहुन्छ, त्यसैले पहिलो कर्तव्य त, भगवानको प्रतिको सेवा नै प्रमुख हो।
माधुर्य भाव प्रकट गर्दा गर्दै ज्ञानीजन आत्मास्वरुप भगवानको दर्शन गर्न लालयित हुन्छन् भन्ने तर्क अगाडि सार्दै सरलताका प्रतिमूर्ति गोपीहरु मोह र बन्धनबाट मुक्त हुन् घर परिवारको त्याग उपयुक्त रहेको भाव ब्यक्त गर्छन्, र छाडि सकेपछि (लोक रीति अनुसार नै पनि) फर्किन गारहो हुने आशय व्यक्त गर्छन्। यो बडो सुन्दर भाव हो। भागवत प्राप्ति÷अनुभूति भए पछि लौकिक जगत कम अर्थपूर्ण लाग्छ। भगवत प्राप्तिको त्यो अनुभव र अलौकिक लाग्ने त्यो बांसुरीको धुन र आचार्यहरुले भने जस्तै भगवानको अतिशय रुप–गुणका कारण उनीहरु वशीभूत छन्।
भगवानका असंख्य कल्याण गुणको वर्णन गर्दा भगवत्ताको गुण स्वरुप अतिशय वल, अतिशय ऐश्वर्य, अतिशय वीर्य, अतिशय शक्ति, अतिशय तेज, अतिशय ज्ञान आदि मुख्य छ गुण सहित वर्णन गर्दै भगवदपाद स्वामी रामानुजाचार्य भगवानका सौशिल्य (शुद्ध चरित्र), वात्सल्य(मातृमयी प्रेम), मार्दव (कोमल दयापूर्ण भाव), गाम्भीर्य, औधर्य (उदारता पुर्वक दिने), चातुर्य, स्थर्य (धिर÷स्थिर), धर्य, सौर्य, पराक्रम, सत्यकाम (सोचेको गर्न सक्ने), सत्यसंकल्प (भनेको गर्ने), कृतज्ञ, लगायत लगायत ’निरतिशय सुखास्पर्श’ र ’निरतिशय औज्यल्य’ आदि गुणको वर्णन गर्नु भएको छ (हेर्नुस्, शरणागति गद्य)। कृतज्ञ, लगायत सुशिल्य (शुद्ध चरित्र), वात्सल्य(मातृमयी प्रेम), मार्दव (कोमल दयापूर्ण भाव), चातुर्य, स्थर्य (धिर-स्थिर), पराक्रम, सत्यकाम (सोचेको गर्न सक्ने), ‘निरतिशय सुखास्पर्श’ र ’निरतिशय औज्यल्य’ आदि गुण बालकृष्णमा सरल गोपीहरुले देखे। यस्ता गुणले उनीहरुलाई आकर्षण नगर्ने कुरै भएन।
त्यसैले त अरु उल्लेख्य भक्त-भागवत जस्तै उनीहरु पनि भगवानको चरणरजको अपेक्षा गर्दछन (श्लोक ३७), र शरणागतिको निम्ति अनुग्रह गर्दछन (देहि दास्यम), किन शरणागत निम्ति आयौं भन्दा भगवानको रुपको कुरा गर्दछन् (श्लोक ३९)। लौकिक भावमै उनीहरु भन्छन, भगवानको स्वरुपमा को आकर्षित छैन, भाव के हो भने उनीहरु पनि त्यै स्वरुपलाई पूज्य मान्छन्।
माथि भनिए जस्तै गोपीहरु श्रीकृष्णको भगवत्तालाई बुझ्ने मात्र होइनन् भगवानका विभिन्न स्वरुपलाई पनि बुझ्दछन्। विभिन्न प्रयोजनको निम्ति, भगवान अवतरित हुने भाव बुझ्दै उनीहरु भगवान कृष्ण ब्रजको रक्षार्थ आएको भन्दै सधैं श्रीकृष्ण हृदयमा रहुन् र आशिर्वाद स्वरुप उनका हात उनीहरुको शिरमा रहोस् भन्ने भावमा स्तुति गर्छन्। गोपीहरुले किन भगवान हृदयमा रहि रहुन् भन्ने प्रार्थना गरे? सन्त–राजा कुलशेखरको भाव हेरे पुग्छ।
कुलशेखर भन्नुहुन्छः
कृष्ण त्वदीयपदपङ्कजपञ्जरान्ते
अद्यैव मे विशतु मानसराजहंसः ।
प्राणप्रयाणसमये कफवातपित्तैः
कण्ठावरोधनविधौ स्मरणं कुतस्ते ।। (मुकुन्दमाला ,७)
(हे कृष्ण ! आजै मेरो राजहंस जस्तो मन हजुरको चरणकमलको पिञ्जरामा बन्द भै रहोस् । (किनभने मर्ने बेलामा त् मलाई कफ, वात, पित्तले मेरो घाँटी अवरुद्ध होला, अनि म कसरि त्यस्तो बेलामा सम्झन सकौँला !)
यहाँ विचित्रको गाँठो देखिन्छ। अगाडिनै शुकदेवजी (श्रीमद भागवत मै) भन्नु हुन्छ, मानिसको सबैभन्दा ठूलो पुरुषार्थ भनेको त्यस्तो कर्म हो जसले गर्दा मृत्यु हुदाँको घडीमा भगवानको स्मरण होस् (जन्मलाभः परः पुंसामन्ते नारायणस्मृतिः २ः१ः६) ।
तर, जीवनको अन्तमा पीडायुक्त मरण हुने हुँदा मानिसले भगवानको स्मरण गर्न सक्दैन्। त्यसैले स्मरणमा राख्न हृदयमै राख्ने र अहिलेनै शरणागत हुने भाव गोपीहरुकै जस्तो कुलशेखरको पनि छ। शुकदेवजीले भनेको पुरुषार्थ पनि त्यै साधना हो जसले गर्दा भगवान हृदयमा हुन् र अन्त समयमा स्मरणमा आइ रहुन्।