लकडाउन लम्बिंदा लेस्टरका नेपाली व्यवसाय चौपट्ट
व्यवसायी भन्छन् 'हामी त बर्बाद हुन लाग्यौं'
लन्डन । ब्रिटिश सरकारले गत ४ जुलाइदेखि इंग्ल्याण्डमा लकडाउन खुकुलो पार्दै हस्पिटालिटी व्यवसाय खोल्न अनुमति दिएपछि चहलपहल केही बढेको छ । ग्राहकहरु रेष्टुरेन्ट, पब जान थालेका छन् । होटल समेत खुलेपछि मानिसहरु ‘सर्ट ब्रेक’ लिएर लन्डरबाहिर डुल्न जाने क्रम बढेको छ ।
तर, इंग्ल्याण्डकै लेस्टर सिटीमा भने लकडाउन लम्बिंदा त्यहांका व्यवसाय ठप्प छन् । संक्रमण अन्यत्रभन्दा बढेपछि लेस्टर सिटी अझै लकडाउनको चपेटामा छ । यसले लेस्टरमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका नेपाली समेत प्रभावित भएका छन् ।
‘हामी त बर्बाद हुन लाग्यौं’, बिगत ८ वर्षदेखि लेस्टरमा इटालियन रेष्टुरेन्ट ओजी (टुडे) चलाइरहेका व्यवसायी दयानिधि सापकोटाको गुनासो छ ।
४ जुलाइदेखि व्यवसाय खोल्न तयारी गरिरहंदा लेस्टर सिटी काउन्सिलले १८ जुलाइसम्म लकडाउन लम्बिने घोषणा गरेकामा बढाएर आज बिहीबार फेरि अरु दुई साता थपिदिएको छ ।
‘मैले धेरै तवरबाट क्यालकुलेसन गरें तर सरकारको गाइडेन्स अनुसार पछि पनि खोल्नै नसकिने अवस्था छ’, सापकोटाले भने, ‘पहिला हामीले टेकवे गरेका थिएनौं । तर टिक्न नसकेपछि जुलाइ १ बाट ‘टेकवे’ शुरु गरेको त्यसले ‘ब्रेकइभन’ पनि भएन ।’
भाइरस संक्रमण नघटेसम्म व्यापार व्यवसाय सुचारु गर्न सम्भव नभएको उनले बताए ।
एनआरएन अभियन्ता सापकोटाको भनाइमा लेस्टर सिटीमा नेपालीका ७ वटा रेष्टुरेन्ट छन् । लकडाउनका कारण ति सबै व्यवसाय संकटमा रहेका व्यवसायी बताउंछन् ।
विगत ५ वर्षदेखि लेस्टर सिटीको एलइ २ मा ‘हेरिटेज इन्डिया’ चलाइरहेका प्रेम आलेमगरको पीडा पनि उस्तै छ । कुनै समय हप्तामा साढे १२ हजार पाउण्डसम्म कमाइ गर्ने उक्त रेष्टुरेन्टमा अहिले २५ सय देखि तीन हजार पाउण्ड पुरयाउन पनि धौ-धौ भएको मगरले बताए । ‘अहिले टेक वे डेलिभरीमा भर पर्नुपरेको छ तर त्यसबाट कामदारको ज्याला र अन्य खर्च पनि धान्दैन’, उनले थपे, ‘लकडाउनपछि पनि सरकारको ‘स्त्रिक्ट’ नियम फलो गर्दा व्यवसाय चल्ने संकेत छैन् ।’
करिब डेढ दशकदेखि रेष्टुरेन्ट पेशामा आवद्ध आलेमगर तत्काल व्यवसाय उंभो लाग्ने देख्दैनन् ।
खुलेका रेष्टुरेन्ट पनि ग्राहकविहीन
लेस्टरसायर भित्र परेपनि चार्नउड काउन्सिलमा रहेको सापकोटाको गोर्खा एम्बेसी रेष्टुरेन्ट ४ जुलाइबाट खुलेको छ, तर ग्राहक छैनन् । ‘अहिले मान्छे आउन डराइरहेका छन् । लकडाउनअघि शुक्रबार-शनिबार हामीले दुईसय ५० जनासम्मलाई खुवाएका थियौं । तर लकडाउनपछि अघिल्लो शुक्रबार, शनिबार २५ जनामात्र ग्राहक आए होलान्’, दयानिधि सापकोटाले सुनाए । व्यवसाय चलाउन सरकारको कडा ‘गाइडेन्स’ गारहो र खर्चिलो भएको उनी बताउंछन् ।