बुधबार, पुष १७, २०८१
23:49 | ०५:३४

बेलायतमा विदेशी विद्यार्थीको संख्या लगातार वृद्धि

नेपाली लिङ्क फ्रेब्रवरी १५, २०२४

फाइल तस्विर

लन्डन- बेलायतका विश्वविद्यालयहरूमा ‘अन्डरग्रयाजुएट’ पढ्न आवेदन दिने अन्तरराष्ट्रिय विद्यार्थीहरूको संख्या लगातार दोस्रो वर्ष पनि बढेको छ।

ताजा तथ्यांकअनुसार गत सेप्टेम्बर इन्टेकमा बेलायत बाहिरबाट १ लाख १५ हजार ७ सय ३० विद्यार्थीहरूले आवेदन दिएका छन्। जुन संख्या अघिल्लो वर्षको १ लाख १४ हजार ९ सय १० भन्दा पनि बढी हो ।

पछिल्ला दुई वर्षमा उल्लेख्य वृद्धि भएको अन्तरराष्ट्रिय विद्यार्थीहरुको आवेदन संख्या कोभिडपूर्वकै अवस्थामा भने अझै फर्किएको छैन । कोभिडका बेला अन्तरराष्ट्रिय यात्रा प्रतिवन्धसहित कयौं नियम लागू गरिएपछि अध्ययनका लागि बेलायत आउनेहरुको संख्यामा भारी गिरावट आएको थियो ।

यता, अध्यागमन नियन्त्रणको प्रयासमा बेलायत सरकारले कयौं कडा नीतिहरु कार्यान्वयन गरिसक्दा पनि अन्तरराष्ट्रिय विद्यार्थीहरुको संख्या उच्च नै देखिएको छ ।

तर विश्वविद्यालयहरुले धेरै अन्तरराष्ट्रिय विद्यार्थीहरु आकर्षित गर्ने प्रयासमा गुणस्तर घटाउँदै लगेको भनेर आलोचना पनि हुने गरेको छ । घरेलु विद्यार्थीको तुलनामा अन्तरराष्ट्रिय विद्यार्थीहरुबाट झण्डै दोब्बरसम्म शुल्क लिने गरिन्छ ।

युनिभर्सिटी एण्ड कलेज एड्मिसन सर्चिसेज् (युकास) का सिइओ डा जो स्याक्सटन भन्छन्, ‘अन्तरराष्ट्रिय विद्यार्थीहरुको संख्या वृद्धि बेलायतका घरेलु विद्यार्थीहरुको लागि चिन्ताको विषय बन्नु पर्दैन । किनकी पछिल्ला वर्षमा युनिभर्सिटी भर्ना हुने घरेलु विद्यार्थीहरु पनि बढेका छन्।’

पछिल्ला केहि वर्षमा नेपालबाट पनि उच्च शिक्षाका लागि बेलायत आउने विद्यार्थीहरुको संख्या उल्लेख्य बढेको छ । यकिन तथ्यांक नभएपनि उक्त संख्या हजारौं रहेको अनुमान छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू