बुधबार, पुष १७, २०८१
00:41 | ०६:२६

बर्न्टओक नेपाली समाजले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्दै जाने

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२४


लन्डन – लण्डनस्थित बर्न्टओक नेपाली समाजले बैठकले समाज स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको छ।

समाजका युवा सदस्यहरुलाई समाजका गतिविधिहरुमा अगाडि बढाउने निर्णय गरेको छ।

एजवेयरस्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले त्यस्तो निर्णय गरेको हो।  बैठकले आउँदो गर्मी याममा ‘समर आउटिङ’ आयोजना गर्ने निर्णय गरेको छ भने मिति तथा स्थानबारे पछि निर्णय गरिने जनाइएको छ।

लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले समाज परिवर्तन गर्नका लागि कुनै पनि कार्यक्रममा अनावश्यक आसन ग्रहण र  सम्बोधन गर्ने गर्दा मूल कार्यक्रममा पर्याप्त समय दिन नसकिएको बताए ।

उनले प्रभावकारी ढंगले सिमित रुपमा सल्लाहकारहरुको नियुक्ति गर्नुका साथै समाजमा एकजना प्रवक्ता पनि हुनु पर्नेमा जोड दिए। 

उनले  बर्न्टओक नेपाली  समाजको लागि एउटा ‘सामुदायिक भवन’ (कम्युनिटी हल) अति आवश्यक परेकोले त्यसलाई ध्यानमा राखी आफूले प्रयास गरिरहेको पनि बताए।

समाजका उपाध्यक्ष मुरारी थापाले १६ डिसेम्बर २०२३ मा चयन भएको कार्यसमितिले गत दुई महिनाभित्र २९ जना नयाँ सदस्य बनाउन सफल भएको जानकारी दिंदै नयाँ सदस्यहरूको नाम पढेर सुनाएका थिए।

समाजका प्रविधि संयोजक प्रेम गुरुङले समाजको वेबसाइट तथा सामाजिक संजाललाई अद्यावधिक गर्न गरिएका प्रयासहरुबारे जानकारी दिए। सल्लाहकार दुर्गा गुरुङले समाजलाई अगाडि बढाउन आमा समूहले पुराउँदै आएको योगदानको प्रशंसा गरिन्। 

बैठकले संस्थाको तर्फबाट एक टिम गोर्खा कपमा भाग लिन पठाउने निर्णय गर्नुका साथै त्यसको जिम्मा खेलकुद सचिव दल गुरुङ तथा ओम महर्जनलाई दिएको छ । 

उक्त बैठकमा बोल्दै समाजका पूर्व अध्यक्ष तथा लन्डन बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङले संस्थामा नयाँ पुस्तालाई संलग्न गराउन र उनीहरुलाई क्रमश नेतृत्व हस्तान्तरण गर्दै जान आवश्यक रहेको बताए। 


बैठकले समाजका पूर्व अध्यक्ष मोहन गुरुङलाई संस्थाको प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ। बैठकमा अध्यक्षले समाजका प्रमुख सल्लाहकार लगायत सबै सल्लाहकारहरुलाई खादा लगाएर सम्मान गरेका थिए।

बैठकले संस्थालाई मुनाफा नकमाउने संस्थाको रुपमा कम्पनी हाउसमा दर्ता गर्ने निर्णय गर्नुका साथै त्यसका लागि संस्थाका सदस्यहरु वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्की तथा मनिराज थापालाई जिम्मा दिने निर्णय गरयो। 

बैठकमा समाजमा टाढा टाढा बसेका नेपाली/भूतपूर्व गोर्खाहरु पनि आबद्ध भएकाले सबैलाई समेट्ने गरी संस्थाको नाम परिवर्तन गर्ने कि भन्नेबारे पनि छलफल भएको थियो तर कुनै निर्णय भने गरिएन । 

संस्थामा आबद्ध पेशेवर सदस्यहरुको सहमति लिएर उनीहरुको नाम र सम्पर्क नम्बर समाजको भाइबर ग्रुपमा राख्ने पनि निर्णय गरिएको छ।

समाजका सल्लाहकार तथा कार्यसमिति सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको उक्त बैठकको संचालन महासचिव हेलिशा गुरुङले गरेकी थिइन्। 

बैठकको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले बैठकमा भौतिक तथा अनलाइनबाट सहभागी सबै पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू