बुधबार, पुष १७, २०८१
00:31 | ०६:१६

बेलायत आउन पहिलो लटमा छानिए ४२ नेपाली नर्स

नेपाली लिङ्क फ्रेब्रवरी १३, २०२४

लण्डन । बेलायतमा रोजगारीका लागि ४२ जना मात्रै नेपाली नर्सहरू आउने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ मध्ये ४२ जनाको नाम वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो ।

बाँकी तीन जनाले ‘ड्रप आउट’ गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ ।

यूके आउनुअघि उनीहरुलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा अभिमुखीकरण तालिम दिइनेछ । त्यसका लागि भैसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

अभिमुखीकरण तालिममा उनीहरूलाई मार्गदर्शन, यूकेमा काम जानुअघि गर्नुपर्ने तयारी आदिबारे जानकारी दिइनेछ ।

प्रतिष्ठानबाट तालिम सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ । विभागका सूचना अधिकारी कविराज उप्रेतीले तालिम सकिएपछि विभागले श्रम स्वीकृति उपलब्ध गराउने र त्यसपछि उनीहरूलाई बेलायत पठाइने बताए ।

मार्चभित्र नर्सहरूलाई बेलायत लगिसक्ने विभागले बताएको छ ।

नेपाल र बेलायत सरकारबीच सन् २०२२ अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।

विभागले ४ साउन २०८० मा आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये ७१ जना अन्तरवार्ताको प्रारम्भिक सूचीमा परेका थिए । १८ देखि २१ मंसिरसम्म भएको अन्तर्वार्तामा ६० जनाको सहभागिता थियो । जसमा ४५ जना पास भएका थिए ।  

उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो । त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्ट (एचएचएफटी) का नर्सहरूले प्रत्यक्ष अन्तर्वार्ता दिएका थिए ।

एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरद्वारा छनोट गरिएको ट्रष्ट हो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू