बुधबार, फागुन १४, २०८१
11:36 | १७:२१

एनआरएनए यूके कार्यक्रममा भरतपुर महानगर मेयर रेणु पनि सहभागी हुने

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२४


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि सहभागी हुने भएकी छन् ।

अध्यक्ष प्रेम गाहामगरका अनुसार उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा ५ मार्चमा हुने ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ वहसमा मेयर दाहाल विशेष अतिथि हुने भएकी हुन् ।

नागरिकता वहस संघको आफ्नै कार्यालय अल्डरसटमा हुने तय भएको छ । उक्त कार्यक्रममा बेलायतका करिब ६० वटा विभिन्न संघसंस्थाका प्रतिनिधिले भाग लिने बताइएको छ । 

कार्यक्रममा नेपाली नागरिकता निरन्तरताका लागि नेपाल सरकारसमक्ष गरिने विभिन्न दबाबमूलक कार्यक्रमबारे पनि छलफल हुनेछ ।

इन्टरन्याशनल मेयर अवार्ड थाप्न बेलायतमा आउन लागेकी दाहाल पहिलोपटक बेलायतका नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लागेकी हुन् । यसअघ निजी भ्रमणमा बेलायत आएपनि दाहाल नेपाली समुदायले आयोजना गरेको कुनै कार्यक्रममा सहभागी भएकी थिइनन् ।

भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहेकी दाहाललाई आफ्नो महानगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माणका लागि सबैले सराहना गर्ने गरेका छन् । विवाद र चर्चा परिचर्चाभन्दा टाढै रहेर काम गर्ने दाहाललाई शुरुमा धेरैले प्रधानमन्त्री प्रचण्डको छोरी मात्र भनेर चिन्ने गरेकोमा उनको नेतृत्वमा भरतपुर महानगरले गरेको विकास देखेपछि मानिसहरू उनीप्रतिको बुझाइ नै फेरिएको मान्दछन् ।


कार्यक्रममा प्रमुख अतिथि रहेकी उपसभामुख रानामगर पनि लामो समयदेखि नेपालमा सामाजिक कार्यमा संलग्न छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुंदै उपसभामुख बने पनि उनी आफैँ लामो संघर्षबाट देशविदेशमा चिनिएकी व्यक्तित्व हुन् ।

झापामा जन्मिएकी उनी राजनीतिमा आउनुअघि गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष थिइन् । उक्त संस्थाले जेल सजायँ भोगिरहेका महिलाका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिका लागि काम गरिरहेको छ।

उक्त योगदानका लागि बीबीसीले रानालाई सन् २०१७ मा बीबीसी १०० वुमन अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरूको सूचीमा राखेको थियो।

तीन दशकदेखि उक्त काममा संलग्न रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्दार गरिएको बताउँदै आएकी छिन्।

कोभिड महामारीका बेला उनले कैयौँ दिन आम्दानीको अभावमा भोका परेका सयौँ मानिसलाई खानाको व्यवस्था गरेकी थिइन्।

च्यारिटी काम गरेर रानामगर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेकी छन् । सन् २००९ मा उनले ‘एसिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड’ र सन् २०१४ मा स्वीडेनकी रानी सिल्भियाबाट विश्व बाल मानार्थ पुरस्कार समेत पाइन् । सन् २०१४ मा विश्व बाल पुरस्कारका लागि उनी मनोनित भएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू