महामारीका कारण बेलायतमा तीन महिनामै साढे ६ लाख बेरोजगार
लन्डन । कोरोना महामारीका कारण उत्पन्न असहज अवस्थाको टड्कारो प्रभाव बेलायतको अर्थतन्त्रमा देखिन थालेको छ ।
हालै सार्वजनिक एक तथ्यांकले महामारीका कारण लकडाउन शुरु भएको पहिलो तीन महिनामै करिब साढे ६ लाख मानिस बेरोजगार बनेको देखाएको छ ।
अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस) ले जारी गरेको तथ्यांकअनुसार गत मार्चदेखि जुन महिनासम्मको तीन महिना अवधिमा बेलायतमा ६ लाख ४९ हजार मानिस ‘पे-रोल’ बाट बाहिरिएका हुन् ।
उक्त अवधिमा सरकारबाट बेरोजगारी भत्ता लिनेहरुको संख्या पनि २६ लाख पुगेको बताइएको छ ।
अर्थविद्हरुले कोरोना महामारीका कारण बेलायतको रोजगारी र अर्थतन्त्रमा पर्ने चर्को असरको पूर्ण चित्र देखिन अझै बाँकी रहेको प्रतिकृया दिएका छन् ।
सरकारले ८० प्रतिशत तलब व्यहोरिदिने ‘फर्लो स्किम’ आउंदो अक्टोबरमा सकिएपछि धेरै व्यवसाय बन्द हुने र बेरोजगारहरुको संख्या ह्वात्तै बढ्ने उनीहरुको आंकलन छ ।
एक अध्ययनले गत तीन महिनाको अवधिमा बेलायतमा खुला गरिएका रोजगारीका अवसरहरु पछिल्लो २० वर्षकै सबैभन्दा न्यून रहेको देखाएको छ ।
त्यस्तै, ब्रिटिश चेम्बर अफ कमर्सले आउंदो तीन महिनामा देशका २९ प्रतिशत व्यवसायहरुले आफ्ना कामदारको संख्या घटाउने अनुमान सार्वजनिक गरेको छ ।