बेलायतको वेल्समा ५० करोडमा नेपालीले किने दुई केयर होम
लन्डन । बेलायतमा नेपाली व्यवसाय फस्टाउने क्रममा छ । अचेल होटल रेष्टुरेन्ट, ग्रोसरीबाट माथि उठेर नेपाली व्यवसायीहरुले स्वास्थ्यलगायत व्यवसाय समेत अंगालेका छन् । यसको पछिल्लो उदाहरण हुन् वीपी खनाल दम्पत्ति ।
बेलायतमा झण्डै दुई दशकदेखि रहेर विभिन्न व्यवसायमा संलग्न उनीहरुले भर्खर संयुक्त अधिराज्यको वेल्समा ५० करोड लागतमा दुईवटा केयर होम खरिद गरेका छन् ।
वेल्सको निथ र स्वान्सीमा ३५/३५ शैया (बेड) क्षमताको केयर होम खरिद गरिएको व्यवसायी खनालले जानकारी दिए ।
यसअघि उनीहरुले वेल्समै तीनवटा केयर होम चलाइरहेका छन् । अब ५ वटा केयर होममार्फत १४४ जना वृद्धवृद्धालाई सेवा र १८० जना भन्दा बढीलाई रोजगारी दिन सफल भएको उनले बताए ।
बेलायतमा यति धेरै रोजगारी सृजना गर्ने उनी नेपाली समुदायमा अग्रपंक्तिमा पर्छन् ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत झण्डै ४ हजार नर्सलाई आफ्नो कम्पनीले पढाइसकेको खनालले दावी गरे ।
‘हाम्रो रिक्रुट टु हेल्थ केयर कम्पनी एनएचएस फ्रेमवर्क लाइसेन्स भएको कम्पनी हो । यो नेपाली समुदायमा एकमात्र कम्पनी हो जसले सरकारी नर्सहरु पढाउन पाउंछ’, उनले भने । खनालका अनुसार, ७० भन्दा बढी शिक्षक उनको कम्पनीमा कार्यरत छन् ।
जम्माजम्मी एक हजार पाउण्ड साथमा लिएर दुई दशकअघि बेलायत छिरेका वीपी खनालको अहिले कलेज, रिक्रुटमेन्ट एजेन्सी, प्रोपर्टी, केयर होम लगायत व्यवसाय छन् ।
‘कडा परिश्रम, लगाव र इमान्दार भएर काम गरे बेलायतमा अवसर धेरै छ’, खनाल भन्छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५