एनआरएनएद्वारा कोशीपछि मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण
काठमाडौं–गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।
बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाल रेडक्रस सोसाइटी धनुषालाई ब्लड बस हस्तान्तरण गरे ।
अध्यक्ष केसीले बस हस्तान्तरण गर्दै स्थानीय निकायबीच समन्वय गरेर बस संचालन गर्न आग्रह गरे । उनले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग हुने विश्वास पनि व्यक्त गरे । एनआरएनए विदेशमा सिकेको ज्ञान, सीप र पूँजी नेपालमा ल्याउन र नेपालको विकासका लागि लागिरहने प्रतिवद्धता पनि केसीको थियो ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघको मधेश प्रदेशसंग आत्मिय सम्बन्ध रहेको बताए । संघको अभियानमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायत मधेश प्रदेशबाट विश्वका विभिन्न देशमा पुगेका नेपालीहरुको संस्थामा ठूलो योगदान रहेको उनको भनाइ थियो । संघको परोपकार विभागका संयोजक समेत रहेका डा. शर्माले विगत दुई दशकमा संस्थागत रुपमा नेपालमा १ अर्ब बराबरको परोपकारी काम सम्पन्न भैसकेको जनाए ।
कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहले संघले प्रदान गरेको मोबाइल ब्लड बस सहयोगका लागि धन्यवाद दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी नरेशप्रसाद सिहं, संघकी उपाध्यक्ष रोजिना प्रधान राई लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा नगरप्रमुख मनोज कुमार शाह, गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापा, सचिव पारसमणी पोखरेल, सल्लाहकारहरु टिबी कार्की, अतुल कोइराला, विधान संशोधन सुझाव समितिका संयोजक भवानी प्रसाद ओली, पूर्व यूरोप संयोजक सन्तोष भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति थियो ।
यसअघि गैरआवासीय नेपाली संघले कोशी प्रदेशको धरान रेडक्रस सोसाटीलाई पनि मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५