सोमबार, पुष २२, २०८१
20:43 | ०२:२८

बेलायतका समाजसेवी राजशान्तिलाई अन्तर्राष्ट्रिय सम्मान

नेपाली लिङ्क जनवरी १८, २०२४


बेलायतका वरिष्ठ समाजसेवी राजकुमार सुनार (राजशान्ति) ले अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान प्राप्त गरेका छन् ।

लमजुङको सुन्दबजार नगरपालिका-९ फुलबारी स्थायी घर भइ हाल बेलायतमा बसोवासरत समाजसेवी सुनारले ‘तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, मलेसिया अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान’ प्राप्त गरेका हुन् ।

राजशान्ति फाउण्डेशन यूकेका संस्थापक सुनारले समाजमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै क्वालिटी फिल्मस् प्रालिले मलेसियाको राजधानी क्वालालम्पुरमा गरेको अवार्ड समारोहमा सम्मान गरिएको हो ।

सम्मानपत्रमा क्वालिटी फिल्मस् प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक उमेश गुरुङ र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्मान ग्रहण गरेपछि सुनारले आफ्नो समाजसेवा योगदानको मूल्यांकन गर्दै सम्मान गरेकामा आयोजक संस्थालाई धन्यवाद दिए । उनले आफू सधैं समाज विकासका लागि लागिरहने पनि बताए ।

बुवा पूर्णबहादुर सुनार र आमा कृष्ण कुमारीको सुपुत्र सुनार लामो समयदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक सेवामा क्रियाशील छन् । लामो समयसम्म ब्रिटिस गोर्खा सेनामा कार्यरत उनी सेनाबाट अवकास लिएपछि आफूलाई गीतकार, लेखक, साहित्यकार र समाजसेवीका रुपमा उभ्याएका छन्।

उनी बेलायत र नेपालमा सामाजिक कार्यमा सक्रिय छन् । उनले च्यारिटी संस्था राजशान्ति फाउण्डेशन स्थापना गरेर सो संस्थामार्फत लामो समयदेखि सामाजिक कार्य गर्दै आएका छन् ।

राजशान्ति फाउण्डेशनमार्फत २०७२ सालमा नेपालका भूकम्प पीडितहरुलाई विभिन्न खाद्य सामग्री प्रदान गर्नुका साथै २०७६-०७७ सालमा पनि कोरोनाबाट जोगिन नेपालीहरुलाई स्यानिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री सहयोग गरेको सुनारले स्मरण गरे । यस्तै नेपालका विपन्न परिवारका क्यान्सर, मृगौला पीडितको उपचारमा पनि उनले आर्थिक सहयोग गर्दै आएका छन् ।

उनले लमजुङका विपन्न विद्यार्थीलाई अध्ययनका लागि छात्रावृत्ति समेत दिइरहेका छन् । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि पनि उनको आर्थिक सहयोग छ । गीत संगीत क्षेत्रको प्रोत्साहनका लागि निम्न स्तरका कलाकारहरुलाई आर्थिक सहयोग गर्दै आएका सुनार कुशल सामाजिक अभियन्ताको रुपमा लोकप्रिय छन् । उनलाई अघि बढ्न र सामाजिक कार्यमा सक्रिय रहन धर्मपत्नी शान्ति सुनार (राजशान्ति) को पनि त्यत्तिकै ठूलो देन छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू