सोमबार, पुष २२, २०८१
22:11 | ०३:५६

बेलायती राजा अस्वस्थ, सार्वजनिक कार्यक्रम स्थगित

रासस/एएनआई जनवरी १८, २०२४

लण्डन, माघ ४–बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारका लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ ।

बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौँ पुरुषले सामना गर्ने प्रोस्टेटको समस्याजस्तै सामान्य अवस्थाको प्रोस्टेटको उपचारका लागि राजा चार्ल्स अर्को हप्ता अस्पताल जानुहुनेछ । अहिले राजा चार्ल्सको अवस्था सामान्य र जोखिमरहित रहेको र उहाँले थप समस्या नहोस् भनी चिकित्सकीय सेवा लिनुहुनेछ ।”

राजा चार्ल्सको पूर्व निर्धारित सार्वजनिक कार्यक्रम उपचारका क्रममा केही समयका लागि स्थगित गरिनेछ । महारानी एलिजाबेथ द्वितीयाको निधनपछि गतवर्ष ७४ वर्षको उमेरमा राजा चार्ल्सले बेलायतको राजकीय बागडोर सम्हालेका थिए ।

बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार हरेक तीन जना बेलायती पुरुषमध्ये एक जनाभन्दा बढीले आफ्नो जीवनकालमा प्रोस्टेट बढ्ने समस्याको सामना गर्नुपर्ने हुन्छ र यो अवस्था सामान्यतया बुढ्यौलीसँग सम्बन्धित हुन्छ ।

एनएचएसले आफ्नो वेबसाइटमा भनेको छ, “उमेर बढ्दै जाँदा प्रोस्टेट किन ठुलो हुन्छ भन्ने थाहा छैन, तर यो क्यान्सरका कारण होइन र यसले प्रोस्टेट क्यान्सर हुने खतरा बढाउँदैन ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू