सोमबार, पुष २२, २०८१
20:32 | ०२:१७

एनआरएनए यूकेमा को-अप सदस्य र सल्लाहकार नियुक्तिको तयारी

नेपाली लिङ्क जनवरी १५, २०२४

बैठकमा बांयाबाट क्रमश: महासचिव गोविन्द खरेल, अध्यक्ष हित काजी गुरुङ र उपाध्यक्ष रविन्द्र कंडेल

लन्डन- एनआरएनए यूके (संस्थापन) ले विभिन्न पदहरुमा मनोनयनका लागि तयारी शुरु गरेको छ ।  

आइतबार अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा अल्डरसटको एम्पायर हलमा सम्पन्न कार्यसमिति बैठकले कार्यसमितिमा को-अप सदस्य, प्रवक्ता र सल्लाहकार लगायतको मनोनयन छिट्टै गर्ने निर्णय गरेको महासचिव गोविन्द खरेलले नेपाली लिंकलाई जानकारी दिए।

बैठकले कार्यसमितिमा को-अप सदस्यहरुका लागि प्रस्तावहरु संकलन गरेर दुई साताभित्र मनोनित गर्ने निर्णय गरेको छ ।  त्यस्तै, समुदायमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरुबाट उपयुक्त संख्यामा सल्लाहकार मनोनित गर्न  प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ। त्यसैगरी, प्रवक्ता मिडिया संयोजक र सल्लाहकार समेत छिट्टै  नियुक्त गर्ने निर्णय गरिएको छ।  

बैठकले नियुक्त हुने सल्लाहकार र को-अप सदस्यको स्वागतार्थ आगामी मार्च ३१ तारिख अल्डरसटमा एक स्वागत कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। 

बैठकले संस्थाको आफ्नै कार्यालय स्थापना गर्ने निर्णय गर्दै उपयुक्त स्थानको खोजी र अन्य तयारीको जिम्मेवारी अध्यक्ष हित काजी गुरुङलाई सुम्पिएको छ।

त्यस्तै, अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहयोग गर्ने उद्धेश्यले कार्यसमिति सदस्य नारायण गिरीलाई विद्यार्थी संयोजन विभागको संयोजक तोकिएको छ। विद्यार्थीहरुको समस्यामा ध्यानाकर्षण गराउंदै समस्या समाधानमा पहलको मागसहित लन्डन दूतावासमा एक ज्ञापनपत्र पनि बुझाइने भएको छ।

सो अवसरमा उपाध्यक्ष सुरेश परियारले भूकम्पपीडितका लागि संकलित रकम आइसीसीमार्फत् पठाइसकिएको जानकारी गराएका थिए। सो कोषमा १४ सय ८० पाउन्ड जम्मा गर्ने एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद तथा ७ सय २० पाउन्ड जम्मा गरेकोमा तमुधिं यूके र अध्यक्ष हरि गुरुङलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ।

बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू