शनिबार, कार्तिक १०, २०८१
18:21 | २३:०६

चालकको लापरबाहीका कारण १२ जनाको ज्यान गयो

रासस जनवरी १३, २०२४

तुलसीपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा शुक्रबार राति साढे १० बजे भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँकेका चार, भारतीय नागरिक तीन, रुकुम पश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना छन् ।

दुर्घटनामा परी बाँकेको खजुरा गाउँपालिका–३ का सञ्जय केसी, नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत, बाँकेकै ३० वर्षीय रामवरण हरिजन, कोहलपुर–८ का २८ वर्षीय अर्पण थापाको मृत्यु भएको छ ।

यस्तै, रुकुमको गोतमकोटका २५ वर्षीय दीपक कामी, चितवनको भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारतको विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारतकै भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र भारतकै उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको छ ।

१० शव परीक्षण भइसकेको छ । दुईजनाका आफन्त नआएकाले शव परीक्षण हुन सकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चार गम्भीर, ११ मध्यम र नौजनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये तीनजनाको उपचारपछि ‘डिस्चार्ज’ भइसकेको छ । घाइतेमध्ये आठजनाको बुटवल र १३ को कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालकको लापरबाहीका कारण दुर्घटना : प्रहरी

दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । ‘इन्ट्री’ नगरी तीव्र गतिमा कुदाउँदा बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए ।

“चालकले सपट बिग्रिएर दुर्घटना भएको बयान दिएका छन्,” उनले भने, “तर, हामीलाई त्यस्तो लाग्दैन । नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्र गतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ,” प्रहरी नायब उपरीक्षक मल्लले भने ।

बस दुर्घटनामा सातजनाको घटनास्थलमै र पाँचको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू