विपक्षीको बहिष्कारबीच शेख हसिना पाँचौँ कार्यकाल सत्तामा
ढाका, पुस २३ गते । सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गरेकी छन् ।
कुनै बेला गरिबीले आक्रान्त मुलुकमा हसिनाले खतरनाक आर्थिक विकासको अध्यक्षता गरेकी छन् तर उनको सरकारमाथि ठूलो मात्रामा मानवअधिकार उल्लङ्न र असहमतिमाथि निर्मम कारबाहीको आरोप लगाइएको छ ।
“निर्वाचन स्वतन्त्र र निष्पक्ष थियो”, उनले आइतबार मतदान गरेपछि आफ्नो पहिलो टिप्पणीमा पत्रकारहरूसँग भनिन् । जम्मा ४१ दशमलव आठ प्रतिशत मात्र मतदान भएको आइतबारको निर्वाचनमा विपक्षीहरूको बहिष्कारपछि उनको पार्टीले तीन चौथाइ सिट हासिल गरेको छ ।
“कुनै पार्टीले निर्वाचनमा भाग लिएन भने त्यहाँ लोकतन्त्र छैन भन्ने होइन”, उनले भनिन्, “आलोचना गर्न चाहनेले आलोचना गर्न सक्छ ।”
विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आम हडताल आह्वान गरेको थियो भने अन्य दर्जनौँ दलले निर्वाचन बहिष्कार गरेका थिए । बीएनपीका वरिष्ठ नेता मोइन खानले सोमबार ढाकामा पत्रकारहरूसँग निर्वाचनलाई ‘नक्कली निर्वाचन’ भन्दै सरकार ‘अवैध’ रहेको बताए ।
निर्वाचन आयोगका सचिव मोनिरुज्जमान तालुकदारले हसिनाको पार्टीले आइतबारको निर्वाचनमा दुई सय २३ सिट जितेको बताए । यद्यपि अन्य सांसदको समर्थनमा तीन सय सिटको संसदमा उनको वास्तविक नियन्त्रण अझ बढी भएको विश्लेषकहरूले बताएका छन् ।
रिक्साचालक ४२ वर्षीय मोहम्मद साहिनले भने, “यो स्थानीय छिमेकी वा बजार सङ्घ निर्वाचनको जस्तै देखावटी निर्वाचन थियो ।”
७६ वर्षीया हसिनाले आइतबार मतदानपछि नागरिकहरूसँग लोकतान्त्रिक प्रक्रियामा विश्वास देखाउन आह्वान गर्दै बीएनपीलाई ‘आतंकवादी संगठन’ नाम दिएकी छन् ।
इलिनोइस स्टेट विश्वविद्यालयका अलि रियजले एएफपीलाई भने, “यो एक दलीय संसद हो, निर्वाचनमा अवामी लिगका सहयोगीहरूलाई मात्र भाग लिने अवसर प्राप्त भएको थियो ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५