मंगलबार, पुष २३, २०८१
11:35 | १७:२०

लन्डनमा स्थापित यस वर्षको पृथ्वी पुरस्कार बस्नेतलाई दिइने

नेपाली लिङ्क जनवरी ८, २०२४

पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता भरत बस्नेत

लन्डन । यस वर्षको पृथ्वी पुरस्कार सामाजिक अभियन्ता भरत बस्नेतलाई दिइने भएको छ ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको एक लाख रुपैयांको पृथ्वी पुरस्कार पाउने बस्नेत तेश्रो व्यक्ति हुन् ।

वर्षेनी प्रदान गरिने उक्त पुरस्कार यसअघि प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी (पहिलो) र राजनीतिकशास्त्रका अध्येता डा. राजेश अहिराजले पाइसकेका छन् ।

काठमाडौंस्थित भोजन गृहका सञ्चालक र दि एक्सप्लोर नेपालका संस्थापक बस्नेत राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका एकजना स्वतन्त्र बुद्धिजिवी भएकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष क्षेत्रीले बताए ।

पृथ्वी नारायण शाह जन्मिएको गोरखा जिल्लामै छिट्टै एक विशेष कार्यक्रम गरि पुरस्कार दिइने क्षेत्रीले जनाए ।

शुक्रबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइंदै

यसैबीच, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले यही १२ जनवरी शुक्रबार (२७ पुष) राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

हिमालयन क्लव सडबरी लन्डनमा दिउसो १२.३० बजेदेखि हुने उक्त कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथीहरु डा. राघवप्रसाद धिताल (ओबीइ), एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, अतिथीहरु राप्रपा युवा नेतृ खुश्बु ओली, साहित्यकार-लेखक विकलचन्द्र आचार्य, बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, वुद्धिजिवी तथा नेपालबाट आमन्त्रित व्यक्तित्व सहभागी हुने आयोजक संस्थाका अध्यक्ष भरत क्षेत्रीले जनाए ।

क्षेत्रीले कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा समेत गरेका छन् । क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायत अध्यक्ष भरत क्षेत्री

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू