मंगलबार, पुष २३, २०८१
12:03 | १७:४८

बेलायत आएको चार दिनमै मृत्यु भएकी कमलाको परिवारलाई सहयोग

नेपाली लिङ्क जनवरी १०, २०२४

लन्डन। उच्च शिक्षा हासिल गर्न बेलायत आएको चार दिनमै मृत्‍यु भएकी कमला गुरुङको परिवारलाई आर्थिक सहयोग गरिएको छ।

ग्रेटर रेडिङ नेपाली समाज यूके (जीआरएनसीए) को पहलमा संकलित करिब तीन हजार पाउण्ड उनको परिवारलाई प्रदान गरिएको हो।

सोमबार समाजका अध्यक्ष भिमसेन खड्काले २ हजार ९ सय १४ पाउन्ड (झन्डै ५ लाख रुपैया) स्वर्गीय गुरुङका श्रीमान निरज गुरुङलाई हस्तान्तरण गरे।

सहयोग हस्तान्तरण कार्यक्रममा ग्रेटर रेडिङ नेपाली समाज (जीआरएनसीए) का पूर्व अध्यक्ष, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता थियो। अध्यक्ष खड्काले सहयोग पुर्याउने सबैजनालाई धन्यबाद ज्ञापन गरे ।

यसअघि गत नोभेम्बर ३० मा अध्ययनका लागि बेलायत आएकी कमला गुरुङ बिरामी परेपछि डिसेम्बर ३ तारिख रोयल बर्कशायर अस्पताल रेडिङ उपचारार्थ भर्ना भएकी थिइन्। ३१ वर्षीय कमलाको अस्पताल भर्ना भएको केही घण्टामै उपचारका क्रममा ‘एब्डोमिनल ह्याम्ब्रेज’ का कारण निधन भएको थियो । केही साताअघि बेलायतमै उनको अन्त्येष्टि भइसकेको छ।

बेलायत आउनुअघि नेपालमा नर्सका रुपमा कार्यरत गुरुङको स्थायी घर स्याङ्जा विरुवा गाउँपालिका-४ खुदी जुकेपानी हो। निधनका बेला गर्भवती समेत रहेको परिवारले जनाएको छ।

सहयोग ग्रहण गर्दै स्वर्गीय कमलाका श्रीमान निरजले ग्रेटर रेडिङ नेपाली समाज र सहयोगी सबैलाई धन्यवाद दिए ।

गर्भावस्थामा हुने ‘एब्डोमिनल ह्याम्ब्रेज’ का कारण अचानक देखा पर्ने यस्तो किसिमको समस्याबारे समयमा नै सचेत हुन जरुरी रहेको गुरुङले बताए ।

सामान्यतया भिडियो एक्सरेबाट पनि पत्ता लाग्न नसक्ने यस्तो विमारी हुँदा बच्चा सहि ठाउँमा नबस्ने र अचानक मृत्यु हुने भएकाले विशेषगरी पहिलोपटक गर्भवती हुनेहरुले सामान्य पेट दुखाइमा नै चिकित्सकको सहायता लिन उनको आग्रह छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू