मंगलबार, पुष २३, २०८१
12:05 | १७:५०

यूकेमा नेपाली विद्यार्थीका समस्याबारे छलफल, सहयोगमा जुट्दै एनआरएनए इंग्ल्याण्ड

नेपाली लिङ्क जनवरी ७, २०२४

फाइल तस्बिर

लन्डन । पर्याप्त तयारीको अभाव र गलत बुझाइकै कारण बेलायत अध्ययनका लागि आउने धेरै नेपाली विद्यार्थीहरु समस्यामा पर्ने गरेको देखिएको छ।

बेलायतस्थित नेपाली विद्यार्थीका समस्याका विषयमा एनआरएनए यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदले शनिबार गरेको ‘भर्चुअल’ छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरु उक्त निष्कर्षमा पुगेका हुन्।

कार्यक्रमका वक्ताहरुले बेलायत आउनुअघि विद्यार्थी र अभिभावक समेतले पढ्न आउने कोर्स, युनिभर्सिटी, खर्चदेखि बस्ने कोठा र कामका अवसरहरुबारे अध्ययन गरेर आवश्यक जानकारी लिन सके समस्या कम हुन सक्ने धारणा व्यक्त गरे। शैक्षिक परामर्शदाता कम्पनीहरुले पनि यथार्थ र वास्तविक सूचना दिन जरुरी रहेको उनीहरुको भनाइ थियो।

बेलायतमा अध्ययन गर्न आउने हरेक नेपाली विद्यार्थीले नेपालबाटै यहाँको अवस्था, जीवनशैली, बस्ने कोठा र कामका अवसरलगायतका आधारभूत विषयमा जानकारी लिएर मात्रै आउनुपर्ने राय उनीहरुले राखे ।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले विद्यार्थीहरुलाई बुझेर मात्र बेलायत आउन सुझाव दिइन् ।

काम, कोठाजस्ता व्यवहारिक समस्यामा सहयोग गर्न दूतावाससंग पर्याप्त स्रोत नरहने स्पष्ट पार्दै उनले युनिभर्सिटी, होम अफिस लगायतका अन्य समस्यामा सम्भव सहयोग गर्दै आएको जानकारी दिइन् ।

अझै पनि धेरै विद्यार्थीहरु दूतावासमा सम्पर्क गर्न हिच्किच्याउने गरेको पाएको भन्दै उनले समस्या पर्दा वा सहयोग आवश्यक पर्दा दूतावासको सम्पर्कमा आउन आग्रह गरिन् ।

उनले ठूलो चुनौतीका रुपमा रहेको विद्यार्थीका समस्याबारे बहस शुरु गरेकोमा एनआरएनए इंग्ल्याण्डलाई धन्यवाद ज्ञापन गरिन् ।

एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले बेलायतमा समस्यामा पर्ने विद्यार्थीहरुलाई सक्दो सहयोग गर्न तयार रहेको बताए । एनआरएनए यूकेले लन्डनस्थित नेपाली दूतावास र अन्य संघसंस्थासंग समेत समन्वय गरेर विद्यार्थीलाई आवश्यक सहयोग गर्न सक्ने उनको भनाइ थियो । ‘समस्यामा पर्यौं भनेर अहिलेसम्म खासै कोहि संस्थामा आउनुभएको छैन । समस्या छ र कोहि आउनुहुन्छ भने हामी सक्ने सहयोग गर्छौं’, अध्यक्ष गुरुङले भने ।

युनिभर्सिटी कलेज लन्डन (युसिएल) का प्राध्यापक डा तेजेन्द्र फेरालीले विद्यार्थीका समस्याबारे बहस शुरु गर्नु सकारात्मक रहेको भन्दै समस्यामा पर्नेहरुसम्म सहयोग पुग्ने गरी सहयोग संयन्त्र बनाउन सल्लाह दिए। उनले विद्यार्थीहरुलाई पनि नेपालबाट आउनुपूर्व बेलायतका यनिभर्सिटी, यहाँको पठनपाठन शैली र संस्कृतिबारे आधारभूत जानकारी लिन सुझाव दिए ।

रियल ड्रिम्स कन्सल्टेन्सीका प्रबन्ध निर्देशक वसन्त नेपालले बेलायतमा विद्यार्थी भिसामा आएर पैसा कमाउन सम्भव नरहेकाले पढाइलाई नै लक्ष्य बनाएर आउन विद्यार्थीहरुलाई सुझाव दिए । कन्सल्टेन्सीहरुबाट पनि केही कमजोरी भए सच्याउन आफूहरु तयार रहेको तर जुनसुकै समस्या पर्दा पनि कन्सल्टेन्सीलाई नै दोष दिने प्रवृत्ति जायज नभएको उनले बताए ।

प्रवासी नेपाली मञ्च ग्लोबल कमिटीका निवर्तमान अध्यक्ष भक्त गुरुङले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सवालमा त्यहाँस्थित नेपाली दूतावासहरुको भूमिका स्पष्ट पार्न सके समस्या हल गर्न सहज हुने बताए ।

बेलायतमा नेपाली विद्यार्थीहरुको लागि दूतावासको आयोजनामा हरेक वर्ष रोजगारी मेला गरिए कामको समस्या कम हुने सुझाव उनले दिए ।

एनआरएनए इंग्ल्याण्डका संस्थापक अध्यक्ष दीपक श्रेष्ठले विद्यार्थीका समस्या समाधानका लागि एनआरएनएले आवश्यक भूमिका खेल्न तयार रहेको उल्लेख गरे।

एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले धेरै विद्यार्थीहरु काम, कोठादेखि मानसिक तनावसम्मकै समस्यामा परेको पाएपछि आफूहरु यो समस्या उठाउन तत्पर बनेको बताए । सरोकारवाला सबैको सुझाव लिएर अब सहयोगका कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

सो अवसरमा बेलायतका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा अध्यापनरत डा मिलन ज्ञवाली, डा हरिश ज्ञवाली, डा प्रकाश पाण्डे र डा प्रसन्न नेपाल, शैक्षिक परामर्शदाताहरु प्रदीप पौडेल र गणेश खड्का, एनआरएनए इंग्ल्याण्डका निवर्तमान अध्यक्ष एलबिजेड गुरुङ, कोषाध्यक्ष राममाया थापा, पत्रकार बाचस्पति रेग्मीलगायतले पनि आ-आफ्ना विचार राखेका थिए ।

कार्यक्रम संयोजन तथा सञ्चालन एनआरएनए इंग्ल्याण्ड सचिव आहिल्या कुंवरले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू