शनिबार, कार्तिक १०, २०८१
18:21 | २३:०६

बेलायतमा व्यस्त छन् वरिष्ठ संगीतकार सापकोटा

नेपाली लिङ्क जनवरी ७, २०२४

लन्डन । वरिष्ठ संगीतकार, गीतकार तथा गायक वसन्त सापकोटा बेलायत रहंदा धेरै कार्यक्रम पुगे, समुदायका अग्रजसंग भलाकुसारी गरे । बेलायत घुमिसकेपछि उनको निष्कर्ष छ, विदेशमा बस्ने नेपाली र विशेष गरि नयाँ पुस्तामाँझ नेपाली गीतसंगीतलाई समयको माग अनुसार परिस्कृत गर्दै लैजान आवश्यक छ ।

हाल बेलायत भ्रमणमा रहेका सापकोटाले नेपाली गीतसंगीप्रति बेलायतमा बस्ने नेपालीहरुले देखाएको अभिरुचीले आफूलाई खुशी लागेको बताएका छन् । यहाँका नेपालीले नेपाली लोकभाकालाई बढी रुचाएको अनुभव उनले सुनाए । नेपालको कला संस्कृति र ‘टिपिकल’ लोकभाका मन पराउने नयाँ पुस्तालाई यसतर्फ प्रोत्साहन गर्दै रोल मोडलका रुपमा उनीहरुलाई नै अगाडि ल्याउनुपर्ने बताउंछन् सापकोटा । उनीहरुलाई आकर्षित गराउन नेपाली मात्र हैन अंग्रेजी गीतलाई पनि नेपाली ‘मेलोडी’ मा ढाल्न सकिने उनको धारणा छ ।

तर, समय र परिवेशअनुसार यसलाई परिष्कृत गर्नुपर्ने र भाषा तथा शब्द उच्चारणमा पनि महत्वपूर्ण ध्यान दिनुपर्ने उनले बताए । यहाँ जन्मेका र हुर्केका नेपालीलाई पनि नेपाली भाषा सिकाउन उनको आग्रह छ । विदेश भ्रमणका क्रममा गीतसंगीत र दर्शक स्रोताको मूल्यांकन गरेर आफूलाई सुधार्ने मौका मिल्नुका साथै उनीहरुको साथ र सपोर्टले कलाकारलाई आत्मबल र थप हौसला मिल्ने उनले बताए ।

नेपाली गीतसंगीतमा लाग्ने स्रष्टाहरु ओझेलमा परेकोप्रति चिन्तित छन् उनी । गीतसंगीतको सृजना गर्नेहरुको नामसमेत नलिने परिपाटी बढेको देखेर उनले दुःख व्यक्त गरेका छन् ।

कतिपयले त आफ्नै गीत भन्दै स्टेजमा चढेर अरुको गीत गाउने गरेकाले यस्ता गायकहरुलाई दर्शक स्रोताले पनि निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ । गीतकार र संगीतकार मात्र नभई गायक पनि छायाँमा पर्दै गएकाले सम्बन्धित व्यक्तिसंगको सम्झौताबिना कुनै पनि कार्यक्रममा अरुको गीत गाउने प्रचलन अन्त्य हुनुपर्ने सापकोटाले बताए ।

कतिपय कलाकारहरुले आफूप्रति घमण्ड गरेको भन्दै कलाकारहरु घमण्ड हुन नहुने उनको धारणा छ । सबै कलाकारलाई सबैले नचिन्न सक्छन्, तसर्थ आफ्नो परिचय आफैं दिने हो भन्दै उनले आफूलाई नचिनेकोमा अपमान भएको ठान्न नहुने पनि बताए ।

नेपाली गीतसंगीतमा करिब अढाई दशक लामो यात्रा गरिसकेका सापकोटाले एक हजार बढी गीतमा संगीत दिइसकेका छन् । १४० बढी चलचित्रका गीतमा संगीत दिइसकेका सापकोटाले डेढ सय हाराहारीमा गीत पनि लेखेका छन् । उनले आवाज दिएका गीतको संख्या पनि दुई दर्जन बढी छ ।

सागर सरि चोखो माया,डायमण्ड लाहुरे, सिम्पल सिम्पल कान्छी, गाला रातै गाला रातै, बट स्लोली स्लोली, ढल्क्योढल्क्यो, कम्मरमाथि पटुकी, उकालीमा जांदा जाँदै, नाइँ नभन्नु ल जस्ता चलचित्रका लोकप्रिय गीत साथै पछिल्लो समय कान्छा तिमीलाई, पोखरेली झापाली, बनमा काफल, जुनी जुनी जस्ता गीतमा उनले संगीत दिएका छन् । वि.सं. २०५५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा लागेका सापकोटा अझैपनि आफू सिक्ने क्रममै रहेको बताउंछन् ।

सांगीतिक करिअरमा शुरु ताका उनले ठूलो संघर्ष गरे । तर संघर्षको मिठो फल पाउंदा अहिले खुशी छन् उनी । ‘संघर्ष सबैले गर्नुपर्छ, संघर्ष गरेरमात्र सफलताको महत्व बुझ्न सकिन्छ’, उनले बताए । नाम कमाउने उद्देश्यले यस क्षेत्रमा लागेका उनी अहिले नाम जोगाउन थप मिहिनेत गरिरहेको बताउंछन् ।

नरेन्द्र बस्नेत

कुराकानीको पूर्ण अंश-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू