बङ्गलादेशमा आम निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’
ढाका, पुस २१ गते– बङ्गलादेशमा आगामी जनवरी ७ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’ को राजीनामा माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ आह्वान गरेको छ ।
पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बीएनपीले आइतबार हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेको छ, जुन मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गरेको छ ।
ढाका ट्रिब्युनका अनुसार शनिबार बीएनपीले देशभर जुलुस निकाल्ने, जनअभियान चलाउने र ‘प्रतिपक्षीहरूलाई बाहिर राखी गर्न लागिएको’ निर्वाचनको विरोधमा पर्चा वितरण गर्नेछ ।
हडतालको दोस्रो दिन आइतबार हुने निर्वाचनले यस पहिले नै विश्वव्यापीरूपमा ध्यान आकर्षण गरिसकेको छ । बीएनपीका संयुक्त वरिष्ठ महासचिव रुहुल कबिर रिजवीले बिहीबार दिउँसो भर्चुअलमाध्यममार्फत गरेको पत्रकार सम्मेलनमा राष्ट्रव्यापी हडतालको घोषणा गर्नुभएको थियो । उहाँका अनुसार शनिबार बिहान ६ बजेदेखि सुरु हुने हडताल सोमबार बिहान ६ बजेसम्म चल्नेछ ।
यसैबीच, बीएनपीले घोषणा गरेको आन्दोलनप्रति बङ्गलादेशका अन्य केही प्रमुख विपक्षी दलले पनि प्रतिवद्धता जनाएका छन् ।
बीएनपीले सरकारको राजीनामा, अक्टोबर अन्त्यदेखि पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाई र पार्टी प्रमुख खालिदा जियाको बिनाशर्त रिहाइको माग गरेको छ । रिजवीको घोषणालगत्तै लिबरल डेमोक्र्याटिक पार्टीले पनि शनिबार बिहान ६ बजेदेखि ४८ घण्टा हडताल गर्ने बताएको ढाका ट्रिब्यूनले जनाएको छ ।
बीएनपी र सरकारविद्धको आन्दोलनमा समान धारणा राख्ने दलहरूले अक्टोबर २९ देखि गरेको यो पाँचौं हडताल हो । विपक्षी दलहरूले यस अवधिमा १२ चरणमा २३ दिनसम्म देशव्यापी विरोधका कार्यक्रम गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५