मंगलबार, पुष २३, २०८१
11:58 | १७:४३

साउथ इष्ट रिजनल तमुधिंमा धुमधामले मनाइयो ल्होछार (तस्विरहरु)

नेपाली लिङ्क जनवरी ३, २०२४

लन्डन- साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा आइतबार एक विशेष कार्यक्रम गरी तमु ल्होछार मनाइएको छ।  

वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा सयौँको सहभागितामा विविध सांस्कृतिक कार्यक्रमहरुसहित ल्होछार मनाइएको हो।

साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतस्थित गैरतमु नेपाली समुदायबाट समेत प्रतिनिधिमुलक सहभागिता थियो।  

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि रोयल ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाटले नेपाली सांस्कृतिक पर्व ल्होछारको शुभकामना दिए। उनले प्रवासमा पनि आफ्नो मौलिक कला, संस्कृति प्रवर्द्धनका लागि तमुधिं साउथ इष्टबाट भएका प्रयासहरुको प्रशंसा गरे।

विशेष अतिथि तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले तमु ल्होछारको शुभकामना दिंदै आगामी दिनमा पनि साउथ इष्ट रिजनल तमुधिंसँगको सद्भभावपूर्ण सहकार्य निरन्तर रहने आशा व्यक्त गरे।  

साउथ इष्ट रिजनल तमुधिं अध्यक्ष प्रेम गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने संस्थाको टीम र सबै अतिथिलाई धन्यवाद ज्ञापन गरे।

उक्त अवसरमा संस्थाका नयाँ आजीवन सदस्यहरुलाई स्वागत गर्नका साथै कम्युनिटी सर्भिस अवार्ड पनि वितरण गरिएको थियो ।  

सो अवसरमा एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, तमुधिं यूकेका पूर्व अध्यक्षहरु, पदाधिकारीहरुसहित साउथ इष्ट लन्डनस्थित विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरुको उल्लेख उपस्थिति थियो।  

संस्थाका महासचिव कमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिवराम गुरुङ ‘बिइएम’ ले स्वागत मन्तव्य तथा उपाध्यक्ष एवम् आमा समूह प्रमुख विन्दु गुरुङले शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएका राष्ट्रिय कलाकार ममता गुरुङ, सरुन गुरुङ र उमादेवी खनालले सांगीतिक प्रस्तुति गरेका थिए। आमा समूहले साँस्कृतिक कार्यक्रम देखाएको थियो भने अरु स्थानीय कलाकारहरुले पनि गीत, नृत्य प्रस्तुत गरे । उक्त सत्रको सञ्चालन सूर्य गुरुङ र उमादेवी खनालले गरेका थिए।

अन्त्यमा डिजे हेम विष्टले ककटेल डान्स गराएका थिए भने आकर्षक पुरस्कारसहित राफल ड्र पनि गराइएको थियो।

तस्विर: याम गुरुङ 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू