शुक्रबार, कार्तिक ९, २०८१
20:32 | ०१:१७

बालकुमारीमा गोली चलाउन आदेश दिने प्रहरी अधिकारी निलम्बित

रासस डिसेम्बर ३०, २०२३

काठमाडौँ, पुस १४–सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए । 

प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । 

कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो ।

प्रधानमन्त्रीले सो घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताए ।

प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अंगका प्रमुखसँग सो घटनाबारे जानकारी लिएका थिए । 

प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू