शुक्रबार, कार्तिक ९, २०८१
20:30 | ०१:१५

बेलायत डिपेन्डेन्ट ल्याउन ३८ हजार ७ सय पाउन्ड तलब थ्रेसहोल्ड तत्काल लागू नहुने

नेपाली लिङ्क डिसेम्बर २२, २०२३

लन्डन—पारिवारिक भिसामा ‘डिपेन्डेन्ट’ बेलायत ल्याउनका लागि निर्धारण गरिएको वार्षिक ३८ हजार ७ सय पाउन्ड तलबको नयाँ थ्रेसहोल्ड तत्काल लागू नहुने भएको छ ।  

यसअघि आगामी अप्रिल महिनादेखि लागू हुने भन्दै गरिएको घोषणा कार्यान्वयन नहुँदै परिमार्जन गरिएको हो।

बेलायती गृह मन्त्रालयका अनुसार आउंदो अप्रिलदेखि पारिवारिक भिसाको लागि आवश्यक वार्षिक तलब थ्रेसहोल्ड पहिलो चरणमा २९ हजार पाउन्ड कायम हुनेछ। 

त्यसपछि चरणबद्ध रुपमा तलब थ्रेसहोल्ड ३४ हजार ५ सय र पूर्वघोषित ३८ हजार ७ सय पाउन्डसम्म पुर्‍याइनेछ। तर कुन मितिदेखि बढाइएका नयाँ थ्रेसहोल्ड लागू हुनेछन् भन्ने स्पष्ट पारिसकिएको छैन।  

प्रधानमन्त्री ॠषि सुनक नेतृत्वको कञ्जरभेटिभ सरकारले इमिग्रेसन नियन्त्रण गर्ने भन्दै केही साताअघि ५ बुंदे परिवर्तन घोषणा गरेको थियो। आगामी अप्रिलदेखि लागू हुने भनिएको सोही परिवर्तन कार्यान्वयन नहुँदै तलब थ्रेसहोल्ड सच्च्याइएको हो।  

पारिवारिक भिसाको लागि यसअघि कायम रहेको वार्षिक १८ हजार ६ सय पाउन्डको तलब थ्रेसहोल्ड दोब्बरभन्दा बढी बढाइएपछि आलोचना भएको थियो ।  

बेलायती नागरिक समेतलाई विदेशमा रहेका आफ्ना श्रीमान, श्रीमती र छोराछोरी ल्याउने बाटो निकै कठिन पार्दा परिवारका सदस्यहरु एकसाथ हुन नपाउने अन्यायोचित अवस्था बनेको तर्क गरिएको थियो। 

बेलायत सरकारले परिवर्तित नियमको कार्यान्वयनले एक वर्षमै नेट इमिग्रेसन ३ लाखले घट्ने दाबी गरेको छ। 

यसअघि नै पारिवारिक रुटमा भिसा लिएका वा नयाँ तलब थ्रेसहोल्ड लागू नहुँदै आवेदन दिनेहरुलाई परिवर्तित नियमले असर नपार्ने सरकारले स्पष्ट गरेको छ।

विपक्षी लेबर पार्टीले भने लागू नहुँदै परिमार्जन गर्नु परेकाले पनि कञ्जरभेटिभ पार्टीको अध्यागमन नीति विफल छ भन्ने पुष्टि गरेको प्रतिक्रिया दिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू