रास्वपा यूके कमिटीमा हेरफेर, महामन्त्री कंडेल र प्रवक्ता चालिसे
लन्डन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बेलायत कमिटीमा हेरफेर भएको छ।
रास्वपा प्रवास सम्पर्क विभाग यूकेले हालै नयाँ महामन्त्री, प्रवक्ता र कार्यसमिति सदस्य नियुक्त गरेको छ।
सभापति पवन शर्माले नेपाली लिंकलाई दिएको जानकारीअनुसार कमिटीको महामन्त्रीमा राजु कंडेल, प्रवक्तामा विष्णु चालिसे र कार्यसमिति सदस्यमा भोजराज कंडेल नियुक्त गरिएको हो।
महामन्त्री नियुक्त कंडेल गल्कोट समाज यूके, सिर्जनशिल लेष्टर नेपाल यूकेलगायत संस्थामा नेतृत्व गरिसकेका अनुभवी सामाजिक अभियन्ता हुन्।
त्यस्तै, प्रवक्ता चालिसेले पनि एनआरएनए आइसीसी सदस्य, एनआरएनए यूके सचिव, नेपाली समाज नटिङहमको अध्यक्ष लगायतका जिम्मेवारी सम्हालिसकेका छन्।
कार्यसमिति सदस्यमा नियुक्त कंडेल भने गल्कोट समाज यूकेका निवर्तमान अध्यक्ष हुन्।
सभापति शर्माले रास्वपाप्रति शुभेच्छा राख्ने बेलायतवासी सबै नेपालीलाई समेट्दै जाने नीतिअनुसार कमिटीमा पदाधिकारी नियुक्त गरिएको जनाए।
यसैबीच, रास्वपा यूकेकै अगुवाईमा जाजरकोट अस्पताललाई अक्सिजन प्लान्ट सञ्चालन गर्न स्टेबिलाइजर डोनेशन सहयोग गरिएको छ। जसका लागि बेलायतस्थित सबै क्षेत्रीय समितिसहित स्पेन, अष्ट्रेलिया, जर्मनी, अष्ट्रियालगायत देशस्थित रास्वपा प्रवास विभागले पनि सहयोग गरेको सभापति शर्माले जनाए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५