शुक्रबार, पुष २६, २०८१
23:30 | ०५:१५

सहारा यूके च्यारिटीमा जुट्यो १४ हजार पाउन्ड, गम र शेरालाई अवार्ड

नेपाली लिङ्क नोभेम्बर २०, २०२३

लन्डन । सहारा यूकेले वार्षिक रुपमा गर्दै आएको च्यारिटी कार्यक्रम शनिबार सम्पन्न भएको छ। अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रमबाट झन्डै १४ हजार रकम जम्मा भएको संस्थाले जनाएको छ।

संकलितमध्ये कार्यक्रमको खर्च कटाएर बांकी रकम विगतमाजस्तै सहारा क्लब पोखरालाई प्रदान गरिने भएको छ। उक्त रकम सहारा पोखराको अक्षय कोष र साहरा एकेडेमीलाई सहयोग गर्ने योजना बनाइएको छ।  

सहारा यूके अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड कुसाङ गुरुङको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले खेलकुद र सामाजिक दुवै क्षेत्रमा सहारा यूकेले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।  

सहारा यूके अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड कुसाङ गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने सहभागी र सहयोगी सबैप्रति आभार प्रकट गरे।  

कार्यक्रममा संस्थामा पुर्‍याएको योगदानको कदरस्वरूप सहारा यूकेले आफ्ना दुई सदस्यलाई विशेष सम्मान गरेको छ । यस वर्षको सहारा यूके अवार्डबाट गम गुरुङ र सहारा यूके स्पेसल अवार्डबाट शेरा गुरुङलाई सम्मान गरिएको हो।

त्यस्तै, सहारा यूकेले लन्डनको ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ तथा एनआरएनए आइसीसीमा बेलायतबाट निर्वाचित उपाध्यक्षद्वय डा हेमराज शर्मा र रामशरण सिम्खडा, युरोप महिला संयोजक प्रसुना कंडेल, आइसीसी सदस्यहरु लेफ्टिनेन्ट रिटायर्ड चन्द्र गुरुङ र दिलरस गुरुङलगायतलाई पनि सम्मान गरेको थियो।  

संस्थाप्रतिको योगदानका लागि सहारा पोखराबाट सम्मानित हुने महेश गुरुङ, रामचन्द्र गुरुङ र उमा गुरुङलाई पनि सहारा यूकेले सम्मान गरेको छ ।

त्यस्तै, विभिन्न क्षेत्रमा उपलब्धि हासिल गर्ने सदस्यहरुलाई सम्मान तथा संस्थाका नयाँ सदस्यहरुलाई स्वागत पनि गरियो।

कार्यक्रममा प्रस्तुति दिन नेपालबाट आएका गायक दीपक थापा र अभिषेक थापासहित सबै स्थानीय कलाकार र सहयोगी एवम् प्रायोजकलाई पनि विशेष सम्मान गरिएको थियो।

सम्मानित हुनेहरुलाई प्रमुख अतिथि राजदूत आचार्य र अध्यक्ष गुरुङले खादा, सम्मानपत्रसहितले सम्मान गरेका थिए। सम्मानितमध्ये कार्यक्रममा उपस्थित हुन असमर्थ सबैलाई छुट्टै अवसरमा सम्मान दिइने जनाइएको छ।

कार्यक्रम संस्थाका महासचिव मनोज गुरुङ र सूर्जे गुरुङले सञ्चालन गरेका थिए भने कार्यक्रम संयोजक एवम् उपाध्यक्ष क्रिश गुरुङले स्वागत मन्तव्य दिएका थिए। सहारा यूके अवार्ड प्राप्त गर्ने सदस्यहरुको योगदान र पृष्ठभूमिबारे निवर्तमान अध्यक्ष कुमार गुरुङले जानकारी गराएका थिए ।  

गायक दीपक थापा र अभिषेक थापाको सांगीतिक प्रस्तुतिसंगै सयपत्री कल्चरल समूहका कलाकारले आकर्षक नृत्यहरु देखाएका थिए। कार्यक्रमको अन्त्यमा गायक तथा डिजे सपन राईले ‘ककटेल डान्स’ गराएर मनोरञ्जन दिलाएका थिए।

तस्विरहरु: मिलन तमु र शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू