शुक्रबार, कार्तिक ९, २०८१
20:29 | ०१:१४

नेपाली नर्सहरुले लन्डनमा च्यारिटी गर्दै

नेपाली लिङ्क नोभेम्बर २२, २०२३

राजासँग भलाकुसारीका क्रममा एसोसिएसन अध्यक्ष सुनिता गौतम, महासचिव सृजा डंगोल लगायत

लन्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरुको संस्था नेपलिज नर्सिङ एसोसिएसन यूकेले आउंदो जनवरीमा एक च्यारिटी डिनर गर्ने भएको छ ।

नेपाली नर्सहरुलाई अप्ठेरो पर्दा आर्थिक सहयोग गर्ने योजना अनुरुप नर्सिङ वेलफेयर फण्ड स्थापनाका लागि च्यारिटी गर्न लागिएको एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले जनाइन् ।

आगामी २० जनवरी २०२४ का दिन बिहान ११ देखि सांझ साढे ४ बजेसम्म लन्डन ह्यारोस्थित ब्लु रुम स्पोर्टस भेन्यूमा च्यारिटी डिनर गर्ने तय भएको छ ।

‘बेलायतमा कार्यरत नेपाली नर्सहरुले नेपालको महाभूकम्प होस् वा कोभिड महामारी । संकटका अवस्थामा आफ्नो ज्यानको पर्वाह नगरि सेवा गरेका छन् । हामी अब उनीहरुलाई अप्ठेरो पर्दा केही सहयोग गर्न सकियोस् भनेर कल्याणकारी कोष स्थापना गर्न लागेका हौं’, अध्यक्ष गौतमले भनिन् ।

उनले च्यारिटी कार्यक्रमका दिन विदा मिलाएर सहभागिताका लागि सबैमा अनुरोध पनि गरेकी छन् । उक्त दिन नर्सहरुले विभिन्न उपयोगी खालका गतिविधि गर्नेछन् ।

सन् २००८ मा स्थापना भएदेखि नै एसोसिएसनले नेपाल र बेलायतमा विभिन्न स्वास्थ्य शिविर, नेपालको दुर्गम क्षेत्रमा बर्थिङ सेन्टर स्थापना, नेपालबाट बेलायत आउन चाहने नर्सहरुका लागि जानकारीमूलक अन्तरक्रिया आदि गर्दै आएको छ ।

गत सातामात्र नेपालीसहित अन्तर्राष्ट्रिय नर्सहरुलाई उनीहरुको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स तृतीयले बकिङहम प्यालेसमा निमन्त्रणा गरेका थिए । सो क्रममा एसोसिएसन अध्यक्ष सुनिता गौतम, महासचिव सृजा डंगोलले पनि राजासंग भलाकुसारीको अवसर पाए । गौतमले उक्त क्षण आफू र नेपाली नर्सहरुका लागि महत्वपूर्ण भएको बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू