शुक्रबार, पुष २६, २०८१
06:44 | १२:२९

बेलायत-नेपाल व्यापार सम्बन्ध विस्तार गर्न नेपाली व्यवसायीहरुको पहल

नेपाली लिङ्क नोभेम्बर १५, २०२३


लण्डन- बेलायतस्थित नेपाली व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले नेपाल तथा बेलायतबीच व्यापार सम्बन्ध विस्तार गर्न अहिले अनुकूल समय भएको जनाएको छ ।

बीएनसीसीद्वारा सोमबार प्लिमथमा आयोजित “साउथ वेस्ट इङ्गल्याण्ड-नेपाल बिजनेस ग्रोथ समिट” मा बोल्दै बीएनसीसी अध्यक्ष डा. कपिल रिजालले नेपालमा बेलायती लगानी बढाउन तथा बेलायतमा नेपाली निर्यात वृद्धि गर्न दुवै देशका सरकार तथा निजी क्षेत्रले अरु निकट सहकार्य गर्नुपर्ने बताए।

उनले नेपाल तथा बेलायतबीच दोहोरो कर हटाउने सम्झौता गर्न आफूहरुले पहल गरिरहेको पनि बताए।

बीएनसीसीका उपाध्यक्ष बिराज भट्टले तेलले मध्य पूर्वका मुलुकहरुलाई धनी बनाए जस्तै जलश्रोतले नेपाललाई धनी बनाउन सक्ने बताए। उनले बीएनसीसीको संयोजनमा सम्भाव्य लगानीकर्ताहरुसहित आउँदो वर्ष एउटा व्यापारिक डेलिगेशन नेपाल जान लागेको जानकारी दिए । 

अझै केही प्रशासनिक झमेला भए पनि विगत तुलनामा नेपालमा लगानीको वातावरणमा निकै सुधार भएको बताउंदै उनले भने- ‘विदेशमा काम गरिरहेका, अन्तरराष्ट्रिय अभ्याससंग परिचित युवा व्यवसायीहरु नेपाल जाने हो भने त्यहाँ लगानीको वातावरणमा थप सुधार आउने देखिन्छ ।’


बेलायतस्थित सूचना प्रविधि कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत तथा बीएनसीसीका कार्यकारी सदस्य अन्जनी फुयालले नेपाल तथा बेलायतबीच व्यापार तथा लगानी सम्बन्धको पछिल्लो अवस्थाबारे जानकारी दिंदै नेपालले सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको बताए। 

उनले जलश्रोत र पर्यटन जस्तै अब नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गरे। 

उनले बीएनसीसीको सदस्यको रुपमा आफूले अन्य व्यवसायीहरुसंग फलदायी सम्बन्ध विकास गर्न सफल भएको भन्दै त्यसका लागि बीएनसीसीलाई धन्यवाद दिए।

साउथ वेस्ट इङ्गल्याण्ड नेप्लिज सोसाइटीका अध्यक्ष दिपक ढकालले आफूले तीन दशक पहिले बेलायतमा रियल स्टेट क्षेत्रमा व्यवसाय सुरु गरेदेखि अहिलेसम्मको आफ्नो अनुभव रोचक ढंगले प्रस्तुत गरेका थिए। “महत्वपूर्ण साझेदारीहरु विकास गरेर हामीले आफ्नो व्यवसायलाई अगाडी बढाउन सक्छौं,” उनले भने।

सो अवसरमा आइएमइ लन्डनका निर्देशक कमल पौडेल, भरंग रिक्रुटमेन्ट सलुसन्सका निर्देशक प्रभु न्यौपाने, राजाराम डल्लाकोटी लगायत वक्ताले पनि आफ्ना व्यावसायिक अनुभवहरु शेयर गरेका थिए।

 बेलायतमा व्यवसाय विस्तारका चुनौती तथा नेपालमा लगानीका सम्भावनाका बारेमा आयोजित प्यानल छलफलको सहजीकरण अन्जनी फुयालले गरेका थिए।

अब बीएनसीसीले मिडल्याण्डस् र दक्षिण पूर्वी लन्डनमा पनि यस्तै अन्तरक्रिया आयोजना गर्न लागेको उपाध्यक्ष भट्टले बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू