टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग
सिड्नी, २५ असार–विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ ।
अष्ट्रेलियाका सांसदहरुले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए ।
यस चिनियाँ एपमार्फत् चीन सरकारले अष्ट्रेलियाका नागरिकहरुको विवरण लिनसक्ने भन्दै उनीहरुले टिकटक प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएका हुन् ।
अष्ट्रेलियाका उदारवादी सिनेटर जीम मोलानले टिकटकलाई चिनियाँ सरकारले प्रयोग र दुरुपयोग गरिरहेको आरोप लगाए ।
त्यसैगरी लेबर पार्टीका सिनेटर जेन्नी म्याकअलिस्टरले पनि सामाजिक सञ्जाल मार्फत अष्ट्रेलियाका नागरिकहरुको सूचना बाहिरिनसक्नेतर्फ ध्यानाकर्षण गराए ।
तर सूचना चोरी भएको आरोपलाई टिकटक एपको कम्पनीले भने कुनै दुरुपयोग हुने सम्भावना नरहेको दावी गरेको छ । कम्पनीले टिकटकमा कुनै विवरण भण्डारण हुने व्यवस्था नरहेको जनाएको छ ।
यसअघि भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा दरारहरु पैदा भएपछि भारतमा टिकटक प्रतिबन्ध गरिएको थियो ।
भारतमा पछिल्लो समय चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने प्रबृत्ति बढेको छ । भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ ।