भगवत स्वरुप
डा. कृष्ण उपाध्याय हामीबीच परिचित नाम हो। आफ्ना पेशागत काम बाहेक वहाँ साहित्यमा पनि कलम चलाउनु हुन्छ, र आज भोलि वहाँ आध्यात्मिक स्वाध्याय र लेखनमा पनि हुनुहुन्छ। वहांले लेखिरहेको ग्रन्थको छोटो छोटो अंश हामी क्रमशः प्रकाशित गर्दै जाने छौं।
यस ग्रन्थमा वहाँले श्रीमद भागवतका चुनिएका स्तुति-प्रार्थनाहरुको वर्गीकरण भक्तिका विभिन्न प्रकारको आधारमा गरेर तिनीहरुको अर्थ प्रस्तुत गर्नु हुन्छ र ब्याख्या गर्ने क्रममा भगवान, भक्त र भक्ति के हो भन्ने सार प्रस्तुत गर्दै पूर्वीय दर्शनसंग तिनीहरुको तादाम्य देखाउनु हुन्छ। यसो गरिरहंदा वहाँ श्रीमद्भागवतका स्तुतीको मात्र चर्चा गर्नु हुन्न अपितु विभिन्न आचार्यहरुद्वारा प्रणित ग्रन्थ, पुराण र उपनिषद्हरुको पनि उल्लेख गर्नु हुन्छ।
आजको यो पहिलो प्रस्तुति श्रीमद्भागवतको पहिलो र छोटो स्तुति जुन भागवतको मंगलाचरण पनि हो। यो श्लोकमा भगवान-ब्रह्म के हो भन्ने चर्चाको सुरुवात गर्नु भएको छ।
********
भगवत स्वरुप
१. मङ्गलाचरण
प्रथम स्कन्द, प्रथम अध्याय
पृष्ठभूमिः
मंगलाचरण श्रीमद्भागावतको प्रथम स्कन्धको प्रथम अध्यायको प्रथम श्लोक हो । विद्वान टिकाकार र आचार्यहरुले यस श्लोकको बारेमा गहिरो विश्लेषण गर्नु भएको छ। यसमा सवैको एक मत देखिने पक्ष के हो भने ‘जन्माद्यस्य यत’ र ‘धिमही’ वेद-उपनिषद् निसृत शब्दहरुले श्रीमद भागवत आफैमा वेदको सरल उदाहरण युक्त सार हो भन्ने पुष्टि गर्दछ । ‘अथातो ब्रह्म जिज्ञासा’ पछि आउने ‘जन्माद्यस्य’ ब्रम्हसुत्रको दोश्रो सुत्रहो । त्यसैगरि ‘धीमहि’ गायत्री मन्त्रको अन्तिम शब्द हो, त्यसैले पनि यो वेद जनित छ भनिन्छ। भगवानको नाम उल्लेख नगरी महर्षि वेदव्यासले भगवानको सत्य स्वरुपको गुणानुवाद गर्नु भएको छ । वहाँ भन्नुहुन्छः
श्लोक
जन्माद्यस्य यतोऽन्वयादितरतश्चार्थेष्वभिज्ञ: स्वराट्
तेने ब्रह्म हृदा य आदिकवये मुह्यन्ति यत्सूरय: ।
तेजोवारिमृदां यथा विनिमयो यत्र त्रिसर्गोऽमृषा
धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि ॥ १ ॥
अर्थ
जो व्यक्त ब्रह्माण्डको उत्पत्ति, पालन तथा संहार आदि समस्त कारणहरुको आदि कारण हुनुहुन्छ, जो प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले सारा संसारको ज्ञान राख्नु हुन्छ, जो परम स्वतन्त्र हुनुहुन्छ (अर्थात् स्वशासित हुनुहुन्छ, अथवा कसैबाट शासित हुनुहुन्न), जसले संकल्प मात्रले सर्वप्रथम ब्रह्माजीको लागि वेदको ज्ञान प्रकाशित गर्नु भयो, जसको कारण ठुल्ठुला मुनि तथा देवता मोहित (भ्रमित) हुन्छन् जसरि अग्निमा जल जलमा थल देखेर मोहग्रस्त भइन्छ र सत्य जस्तो लाग्दछ त्यसरी नै जसको सत्यताको कारणले (यो प्रकृतिको तिन गुणको प्रतिक्रिया स्वरुप उत्पन्न) त्रिबिध सृस्टी सत्य जस्तो लाग्छ। जसको तेजले समस्त अन्धकार निरस्त (नाश) हुन्छ, म त्यो परम् सत्यको ध्यान गर्दछु।
संक्षिप्त व्याख्या:
संक्षिप्त व्याख्या:
‘सत्य’ भगवानको नाम-स्वरुप हो:
महर्षि वेदयास मंगलाचरणको माध्यमबाट परम ‘तत्व’ को निरुपण गर्नु हुन्छ । परम ‘तत्व’ ‘सत्य’ को रुपमा प्रस्तुत गर्नु हुन्छ, वहाले प्रस्तुत गर्नु भएको सत्य, ‘परम सत्य’ हो। वहाँ ‘परम सत्य’ को गुणानुवाद गर्नुहुन्छ। प्रमुख छ गुण युक्त त्यो ‘परम सत्य’ अतुलनिय विर्य हो जसबाट सृष्टि हुन्छ। त्यो ‘सत्य’ परम वल स्वरुप छ, परम शक्ति स्वरुप छ, त्यसै वाट जगतको पालन हुन्छ र नास हुन्छ। स्वयम् शासित र स्वतन्त्र (स्वराट) छ त्यसैले अतिशय ऐश्वर्ययुक्त छ। त्यो अतिसय तेजोमय छ त्यसैले, जगतमा प्रकाश हुन्छ । त्यो ‘सत्य’ प्रकाश नै अज्ञान र कल्मष निस्तेज गर्ने अतिशय ज्ञानको श्रोत हो जहाँ सृष्टिको पहिलो जीव ब्रह्माजीमा ज्ञानको संचार हुन्छ। त्यो अद्वितीय ज्ञान (यज्ज्ञानमद्वयम्) लाइ ‘तत्व’को रुपमा निरुपण गरिएको छ श्रीमद्भागवतमा:
वदन्ति तत्तत्त्वविदः तत्त्वं यज्ज्ञानमद्वयम् ।
ब्रह्मेति परमात्मेति भगवानिति शब्द्यते ॥ (१:२:११ )
त्यो परम तत्व लाइ भगवान भनिएको छ, ब्रह्म भनिएको छ, परमात्मा भनिएको छ।
त्यसैले त्यो ‘सत्य’ भगवान, ब्रह्म, परमात्मा हो जसको गुणानुवाद भएको छ। मंगलाचरणमा वर्णित कर्मबाट पनि भगवान, ब्रह्म, परमात्माको बोध गराउछ। मंगलाचरणमा वर्णित कर्म विष्णु पुराणमा भगवानका कर्मको रुपमा व्याखा गरिएको छ:
उत्पत्तिं प्रलयं चैव भूतानामागतिं गतिम् |
वेत्तिं विद्यामविद्यां च स वाच्यो भगवानिति || (विष्णु पुराण, ६:५:७८)
अर्थात्, जसले उत्पति र प्रलय, प्राणिको गति अगति, र ज्ञान र अज्ञान बुझाउदछ त्यसैलाई भगवानको संज्ञा दिइन्छ।
विष्णु पुराणमै मुख्य गुणको वर्णन गर्दै भनिएको छ, हेय गुण बाहेक, ज्ञान, शक्ति, बल, ऐश्वर्य, विर्य र तेज आदि सद्गुणहरु नै ‘भगवत’ शब्दको वाच्य हो। यथा:
ज्ञानाशक्तिबलैश्वर्यविर्यतेजांस्यशेषत:
भगवद्छब्दवाच्यानि विना हेयेर्गुणादिभि: (६/५/७९)
भगवान निर्विकार, अद्वितीय, सगुण र साकार हुनुहुन्छ:
माथिको यो श्लोकमा भए जस्तै, हेय गुणको अनुपस्तिथि वेदको निर्गुण वादिनी ऋचाहरुको व्याख्याको रुपमा भगवतपाद रामानुज लगायत पूर्वाचार्यहरु प्रस्ट्याउनु हुन्छ। स्मरण रहोस वेदमा सगुण र निर्गुण वादिनी दुवै खाले ऋचाहरु छन्।
भगवदपाद श्रीरामानुजाचार्यले शरणागति गद्यमा भगवानका अतिशय ज्ञान,अतिशय ऐश्वर्य, अतिशय वल, अतिशय विर्य, अतिशय शक्ति, अतिशय तेज आदि प्रमुख छ गुण बाहेक अरु धेरै कल्याणकारी गुणको वर्णन गर्नु भएको छ। यस्ता गुणहरु श्रीमद्भागवतसहित अन्य शास्त्रहरुमा वर्णित छन्। उल्लेख्य के हो भने अनन्त कल्याणकारी गुण भएका ब्रह्म हेय प्रकृतिका गुणबाट बिमुक्त छन् (हेर्नुस माथिको श्लोक विष्णु पुराण, ६/५/७९) )। त्यस्ता हेय प्रकृतिका गुण प्राकृत देहमा मात्र हुन्छ। जन्म, जरा, मृत्यु आदि प्राकृत शरीरका गुण हुन्, भगवानमा यस्ता गुण नहुनु नै निर्गुणको अर्थमा लिईन्छ। ब्रह्म यी लगायत अन्य प्रकारका विकार गुणयुक्त हुनुहुन्न, त्यसैले निर्विकार (शुद्द, विमल, र शोक रहित आदि) हुनुहुन्छ। त्यसैले सहि अर्थमा, धेरै कल्याणकारी गुण भएका भगवान सगुण मात्र हुनुहुन्छ, अनन्त गुणका खानी हुनुहुन्छ। भगवान सवै कल्याणकारी गुणको परिचायक हो, त्यसैले गुण सम्पन्न हुनुहुन्छ।
मंगलाचरणमा वेद ब्यासजीले नाम नलिए पनि गुणानुवादबाट परम्ब्रह्मलाई इंगित गर्नु भएको छ, विष्णु पुराणमा ब्यास पिता महर्षि पराशरजीले परम्ब्रह्मवारे स्पस्ट पार्नु भएको छ:
… परमब्रह्मभूतस्य वासुदेवस्य नान्यगः ॥ ७६ ॥
(परम ब्रह्म वासुदेव बाहेक अरु कोहि भगवान छैन )
परम ब्रह्म एक हुनुहुन्छ। महर्षि व्यास तिनै एक परम ब्रह्मलाइ सत्य स्वरुपमा ध्यान गर्नु हुन्छ: सत्यं परं धीमहि ।
त्यो सत्य नित्य छ, सृष्टि भन्दा अगाडी पनि थियो, र अहिले पनि छ, र अन्तमा पनि रहने छ। श्रीमद्भागवत मै भगवानले (चतुश्लोकी भागवतमा) ब्रहामाजीलाई उपदेश दिएको प्रसंग आउँछ। भगवानले ब्रहामाजीलाई बुझाउनु हुन्छ:
सृष्टि पुर्व म मात्र थिए। सत, असत वा अन्य कुनै म भन्दा भिन्न थिएन। सृष्टी नहुदा (प्रलयकालमा) मा पनि म नै रहन्छु। यो सवै सृष्टीरूप पनि मै नै हुँ र यो सृष्टी, स्थिति तथा प्रलय बाट जे बाँकी रहन्छ त्यो पनि म नै हो। यथा:
अहमेवासमेवाग्रे नान्यद यत् सदसत परम।
पश्चादहं यदेतच्च योSवशिष्येत सोSस्म्यहम ।। (३:९:३३ )
छान्दोग्योपनिषदले पनि त्यहि उद्घोष गर्छ:
हे सौम्य, यो जगत भन्दा पहिले पनि त्यहाँ एउटा मात्र अस्तित्वमा थियो, कुनै दोश्रो थिएन। यथा:
सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयम्। ॥ ६.२.१ ॥
इतिहास र पुराणहरुले वेद उपनिषद्को ब्रह्म एक हुनुको सारलाई बुझाएका छन्। छान्दोग्योपनिषदले नै त्यै एक ब्रह्मले धेरै स्वरुप धारण गर्ने गरेको पनि प्रस्ट्याउछ:
तदैक्षत वहुस्याम्…. ॥ ६.२.३ ॥
(भावार्थ : ति परमात्माले एकबाट अनेक हुने इच्छा गरे )
यसरि एक वाट अनेक स्वरुप लिएकोले धेरै स्वरुपमा देखिने मात्र हो, त्यो परम तत्व एक हुनुहुन्छ। आचार्य श्रीचरणहरुले शास्त्रको यो सारलाई अझ सुगमसंग बुझाउनु भएको छ। भगवदपाद स्वामी श्री लोकचार्य
(१२०५-१३११ सन् ) द्वारा रचित अर्थपंचकले यसलाई सरल भावले अर्थ्याएको छ। यसले भगवानका पांच स्वरुपको बर्णन गर्छ। भगवानको पर स्वरुप (‘बासुदेव’), ब्यूह स्वरुप (वासुदेव, संकर्षण, प्रद्युम्न, अनिरुद्ध), र अवतार स्वरुप राम, कृष्ण आदि, अर्चा स्वरुप (प्रतिष्ठित र स्वयम्भुव भगवानका बिग्रह आदि), र अन्तर्यामी स्वरुप बासुदेवको व्याख्या छ। अर्थपंचकको व्याख्या यहाँ गरिएको छैन, तर ग्रन्थमा अन्य विषयको छलफलको क्रममा फेरी यसवारेमा चर्चा गरिने छ।
अहिलेको प्रसंग, भगवानका स्वरुपको बारेमा भन्ने पर्ने के हो भने भगवानका कुनै पनि स्वरुपको उपासना आराधना श्रवण किर्तन त्यही सत्य स्वरुपको भगवानको उपासना हुन्छ। महर्षि वेदव्यास हामीलाई त्यहि बुझाउनु हुन्छ। श्रीमद्भागवतको कथा गङ्गा प्रवाहित गर्दा स्तुतिहरुमा भगवानका यी विविध स्वरुपहरुको वर्णन गरिएको छ। श्रीमद्भागवतको शुरुतिरै महर्षि वेदव्यासको नारद्जीसंगको सत्संगको प्रसंगमा आउछ, त्यहाँ नारदले भगवानका व्युह स्वरुपको ध्यान गर्ने उपदेश गर्नुहुन्छ:
ॐ नमो भगवते तुभ्यं वासुदेवाय धीमहि ।
प्रद्युम्नायानिरुद्धाय नम: सङ्कर्षणाय च ॥ (श्रीमद्भागवत, १:५:३७)
अक्रुरजीको प्रार्थनाहरुमा पर, ब्यूह, अवतार, अन्तर्यामी आदि स्वरुपको प्रार्थना छ, अद्वितीय ब्रह्मले कार्यवश विविध गुण लिएर प्रकट हुने (विष्णु, शिव, ब्रह्मा आदि जस्ता) विविध स्वरुपको बीचमा तत्वत: भेद छैन भन्ने उपदेश पनि छ।
महर्षि वेदव्यासजीले प्रार्थना गरेको त्यो सत्य स्वरुप ब्रह्म सगुण मात्र होइन (यसको चर्चा माथि नै गरियो), सत्य स्वरुप ब्रह्म साकार पनि हुनुहुन्छ। नाम नलिदा निराकार हुने होइन। श्रीमद्भागवतमै यो प्रस्ट देखिन्छ। यसको पनि संक्षेप चर्चा गरौँ।
मंगलाचरणमा सत्य स्वरुपको ध्यान छ, मध्यममा देवताहरुले गरेको प्रार्थना पनि सत्य स्वरुपमा छ। र अन्तिममा गरिएको प्रार्थना पनि सत्य स्वरुपको लागि गरिएको छ। अन्तिम मा गरिएको प्रार्थना हेरौं :
कस्मै येन विभासितोऽयमतुलो ज्ञानप्रदीप: पुरा
तद्रूपेण च नारदाय मुनये कृष्णाय तद्रूपिणा ।
योगीन्द्राय तदात्मनाथ भगवद्राताय कारुण्यत-
स्तच्छुद्धं विमलं विशोकममृतं सत्यं परं धीमहि (१२:१३:१९ )
(म शुद्ध विमल शोकरहित सत्य स्वरुप ब्रह्मको ध्यान गर्दछु जसले प्रारम्भमा यो अतुलनिय ज्ञान ब्रह्माजीलाई दिनु भयो, त्यै रुपमा ब्रह्माजीले नारद्जीलाइ दिनु भयो, नारद्जिले (कृष्ण) वेदव्यासजीलाई दिनु भयो, व्यासजिले शुकदेवलाई दिनु भयो र कृपा स्वरुप शुकदेवजी ले परिक्षित (भगवतरात, विष्णुरात) लाई सुनाउनु भयो। )
श्रीमद्भागवतका ब्रह्माजीद्वारा गरिएका स्तुतिहरुवाट नै प्रस्ट हुन्छ भगवानले वहाँलाई प्रत्यक्ष दर्शन दिएर मात्र सृष्टिको निम्ति उपदेश र भागवत ज्ञान प्रदान गर्नु भएको थियो (हेर्नुस, ३:९, १०:१४ )। अर्थात् वहाँले साकार स्वरुप ब्रह्मको दर्शन गर्नु भएको थियो।
अन्तमा गरिएको श्लोक (१२:१३:१९) को व्याख्या गर्दा केहि विद्वानवरेण्य हरु ‘तद्रूपेण’ लाई पनि ब्याख्या गर्नु हुन्छ: भगवान स्वयमले ब्रह्माजी, नारदजी, वेदव्यासजी, शुकदेवजीको स्वरुपमा ज्ञान दिनु भएको छ। त्यसो हुदाँ त् झनै साकार रुपकै वर्णन भयो।
अव श्रीमद्भागवतको मध्यमा गरिएको प्रार्थना हेरौं :
सत्यव्रतं सत्यपरं त्रिसत्यं सत्यस्य योनिं निहितं च सत्ये।
सत्यस्य सत्यमृतसत्यनेत्रं सत्यात्मकं त्वां शरणं प्रपन्नाः (१०:२:२६ )
(भावार्थ-हजुर सत्य संकल्प (सत्यव्रत) हुनुहुन्छ, परम सत्य हुनुहुन्छ, तिनै कालको सत्य हुनुहुन्छ (सृष्टि, स्तिथि, र लय को अवस्थामा), सत्यको योनि हुनुहुन्छ अर्थात् सवै सत्यको मुलश्रोत हुनुहुन्छ, सत्यको सत्य अर्थात् सवैको सार हुनुहुन्छ, र सत्यलाई देख्न सक्ने आँखा पनि हुनुहुन्छ, त्यसले हे सत्य आत्मन, हामी हजुरको शरणागत छौ।)
यो प्रार्थना त प्रस्टै साकार स्वरुपको प्रार्थना हो, किनभने यो स्तुति जन्मिने बेलाका गर्भस्थ भगवान कृष्णलाई गरिएको स्तुति हो। त्यहाँ पनि भगवानको सत्य स्वरुपकै स्तुति छ। त्यसको अर्थ सत्य स्वरुप साकार छ।
यस अर्थले सत्य स्वरुपलाई गरिएको मंगलाचरण पनि साकार स्वरुप भगवानकै स्तुति हो अर्थात् श्रीमद्भागवतमा सत्य स्वरुप भगवानलाई गरिएको तिनवटै स्तुति साकार ब्रह्मको स्तुति हो।
त्यसैले सत्य नाम-स्वरुप पनि साकार र सगुण छ। यसर्थ, भगवानको नाम स्वरुप बर्णन नभए पनि सवै नाम, सवै स्वरुप, सवै लीला अथवा कुनै एउटा नाम, कुनै एउटा स्वरुप, कुनै एउटा लीला स्वरुपमा रहेको परब्रह्मको ध्यान हो यो मंगलाचरण।
यस्तै साकार सगुण ब्रह्मका उपासक थिए गोपीहरु। उनीहरुको भक्ति भिन्न प्रकार र भावको थियो, जसलाई ‘गोपीभाव’ भन्दा हुन्छ। तेश्रो खण्डमा (खण्ड २: भगवत भक्ति: प्राप्य स्वरुप, पछि) गोपीहरुले गरेका स्तुतिहरुको चर्चा छ। क्रमशः …