शुक्रबार, कार्तिक ९, २०८१
20:27 | ०१:१२

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया निर्देशकमा नेपाल पराजित

रासस/एएफपी नोभेम्बर १, २०२३

वासिङ्टन विश्वविद्यालयमा विश्व स्वास्थ्य विषयका प्राध्यापक ६५ वर्षीय शम्भु आचार्यलाई बुधबार भएको गोप्य मतदानमा वाजेदले पराजित गरेकी हुन् ।

नयाँदिल्ली, १५ कात्तिक–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बङ्गलादेशकी साइमा वाजेदलाई दक्षिण–पूर्वी एसिया निर्देशकमा चयन गरेको छ ।

उनी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । वाजेदमाथि उक्त पदमा मनोनित हुनका लागि आफ्नी आमाको शक्तिप्रयोग गरेको आरोप लागेको छ । उनले आरोपको खण्डन गर्दै आएकी छन् ।

“म स्वस्थ दक्षिण–पूर्वी एसिया निर्माण गर्न आतुर छु,” विश्वको एक चौथाइ जनसङ्ख्या रहेको ११ राष्ट्रको क्षेत्रको नेतृत्व गर्ने पदका लागि छनोट भएपछि वाजेदले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेकी छन् ।

स्वास्थ्यसम्बन्धी प्रतिष्ठित जर्नल द लान्सेटले यो पोस्टलाई ‘विशेष गरी संकटको समयमा विश्वव्यापी स्वास्थ्य सेवाका लागि सबैभन्दा महत्वपूर्ण भूमिकाहरूमध्ये एक’ भएको उल्लेख गरेको छ ।

द ल्यान्सेटले सेप्टेम्बरमा वाजेदको उम्मेदवारीले ‘पारदर्शिता र नातावादमाथि प्रश्न उठाएको’ उल्लेख गर्दै हरेक अन्य राष्ट्रले चिकित्सक वा विद्यावारिधि गरेका वा दुवै योग्यता भएका उम्मेदवारलाई पदका लागि सिफारिस गरेका बताएको थियो ।

ल्यान्सेटले भनेको छ, “वाजेदको हजुरबुवाको नाममा स्थापित बङ्गलादेशी विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको र सम्भवतः यसकै आधारमा एक्समा डाक्टर सायिमा वाजेद नामक अकाउन्ट खोलिएको र यसैलाई आधार बनाएर उहाँलाई नियुत्ति दिइएको छ ।”

वाजेदले फ्लोरिडाको ब्यारी युनिभर्सिटीबाट विद्यालय मनोविज्ञानमा ‘एड्भान्स्ड ग्राजुएट डिग्री’ हासिल गरेको नियुक्तिका लागि दिइएको उनको निवेदनमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को वरिष्ठ भूमिकामा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव भएका वासिङ्टन विश्वविद्यालयमा विश्व स्वास्थ्य विषयका प्राध्यापक ६५ वर्षीय शम्भु आचार्यलाई बुधबार भएको गोप्य मतदानमा उनले पराजित गरेकी हुन् ।

वाजेदले गत महिना नातावादको दाबीलाई अस्वीकार गर्दै आफूलाई बङ्गलादेशको रणनीतिक मानसिक स्वास्थ्य योजनाका लागि प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बताएकी थिइन् ।

उनले लेखेकी छन्, “मेरो स्पष्ट जानकारी र अनुभवलाई अवमूल्यन गरिनु र मलाई मेरी आमाको छोरीको रूपमा मात्र सीमित गर्नु लैङ्गिक विभेद हो र विरोधलाई पनि त्यस्तै रूपमा सम्बोधन गर्नुपर्छ ।”

नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलन, दक्षिण अफ्रिकाको ब्रिक्स शिखर सम्मेलन र संयुक्त राष्ट्रसङ्घको महासभालगायत थुप्रै उच्चस्तरीय कूटनीतिक कार्यक्रममा वाजेद आफ्नी आमासँगै गएकी थिइन् ।

देशका संस्थापक नेताकी छोरी तथा वाजेदकी आमा हसिना १५ वर्षदेखि बङ्गलादेशको सत्तामा छन् भने उनले तीव्र आर्थिक वृद्धिको नेतृत्व गरिरहेकी छन् । तर, उनको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लङ्घनको आरोप लाग्दै आएको छ ।

बङ्गलादेश (जहाँ तीन महिनाभित्र आम चुनाव हुनेछ) मा हसिनाका धेरै समर्थकले वाजेदलाई आफ्नी आमाको सम्भावित उत्तराधिकारीको रूपमा हेर्छन् । वाजेदको मनोनयनलाई जनवरीमा डब्लुएचओको शीर्ष बोर्डले अनुमोदन गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू