आइतबार, मंसिर ९, २०८१
11:48 | १७:३३

गाजा युद्धमा ३२६ इजराइली सेना मारिए

रासस/एएफपी नोभेम्बर १, २०२३

इजरायली सेनाले हमासविरुद्ध कारवाही तीव्र पारेको छ । तस्विर- एएफपी

जेरुसेलम, १५ कात्तिक–मङ्गलबार गाजामा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ ।

सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजराइलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजराइली सेना युद्धमा होमिएको छ ।

यसैबीच गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको इजराइली हमलामा मङ्गलबार कम्तीमा ४७ मानिस मारिएका छन् । इजराइलले मारिनेमा अक्टोबर ७ को हमलामा संलग्न हमास कमान्डर पनि रहेको बताएको छ ।

राती हुनुभन्दा पहिला बाक्लो जनसङ्ख्या भएको जबालिया शिविरमा ठूलो विस्फोट हुँदा वरपरका भवनका बाहिरी भाग क्षतिग्रस्त भएको थियो भने फोहोरले भरिएको एउटा गहिरो खाडल बनेको थियो ।

सयौँ दर्शक र स्वयंसेवकहरू कङ्क्रिट ब्लकहरूमा पञ्जा लगाएर जीवितहरूलाई खोजिरहेका थिए । एएफपीले कम्तीमा ४७ शव फेला परेको बताएको छ ।

स्थानीय बासिन्दा ४१ वर्षीय राघेब अकलले विस्फोटको तुलना ‘भूकम्प’ सँग तुलना गर्दै भग्नावशेषमा दबिएका घर र शरीरमा चोट लागेका ठूलो सङ्ख्यामा घाइते र शवहरू देखेको बताए ।

आफ्नो युद्धक विमानहरूले साइटमा एउटा ‘विशाल’ सुरुङ परिसरमा हमला गरेको इजराइलले बताएको छ । इजराइली सेनाका अनुसार उक्त सुरुङ परिसरमा स्थानीय बटालियन कमान्डर इब्राहिम बियारीसहित थुप्रै आतङ्कवादी मारिएका थिए ।

सेनाका प्रवक्ता जोनाथल कन्रिकसले बियारीलाई गत महिना इजराइलमा हमासको हमलाको ‘योजना र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताए । हमासको उक्त हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको ज्यान गएको थियो ।

इजराइलका नेताहरूले मुलुकको इतिहासमा सबैभन्दा खराब हमलाको बदला लिनका लागि हमासलाई ‘निमिट्यान्न’ पार्ने वाचा गरेका छन् ।

गाजा शरणार्थी शिविर आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भनेका छन्, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ ।”

यसैबीच, जोर्डनबाट प्राप्त समाचार अनुसार अक्टोबर ७ मा भएको आक्रमणको विरोधमा इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ ।

‘जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गरेका छन्’, विदेश मन्त्रालयले भनेको छ, ‘गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको हो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू