शुक्रबार, कार्तिक ९, २०८१
20:25 | ०१:१०

राष्ट्रसङ्घ महासचिवद्वारा पाटन दरबार क्षेत्र अवलोकन

रासस अक्टोबर २९, २०२३
काठमाडौँ, १२ कात्तिक- नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।
महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाबारे जानकारी दिनुभएको थियो ।
महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा धिमे बाजा र परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारी सहभागी हुनुहुन्छ । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएको हो ।
भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू