शुक्रबार, पुष २६, २०८१
15:38 | २१:२३

बेलायतकी अभियन्ता रोजिनाको उम्मेदवारी परिवर्तन, अब महिला उपाध्यक्षमा आकांक्षा

नेपाली लिङ्क अक्टोबर ४, २०२३

लन्डन । बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने निर्णय गरेकी छन् ।

यसअघि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेपनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै संस्थामा लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप आफू महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको उनले जनाएकी छन् ।

‘एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो’, बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोजिनाले भनेकी छन्, ‘विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाएर महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुं ।’ सम्पूर्ण डेलिगेट्सले आफ्नो परिवर्तित चाहनामा पनि पूर्ण साथ दिने आशा उनको छ ।

विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुने तयारी छ ।

आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन् । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने प्रण उनको छ ।

उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा पनि सारेकी छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उनले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरिसकेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू