नेपालमा लागुऔषध प्रयोगकर्ताको वृद्धिदर घट्यो, संख्या बढ्यो
काठमाडौँ । मुलुकमा लागूऔषध प्रयोगकर्ताको संख्या केही वृद्धि भए पनि वृद्धिदर घटेको छ । गृहमन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरेको अध्ययनले यसपटक वृद्धिदर आधाभन्दा बढीले घटेको देखिएको हो ।
मंगलबार सार्वजनिक एक प्रतिवेदनअनुसार यसपटक औषत वृद्धिदर पाँच दशमलव ६ प्रतिशत मात्रै छ । विसं २०६३ देखि २०६९ को विवरणमा वृद्धिदर औषत ११ दशमलव ३६ प्रतिशत थियो । नमूना सर्वेक्षणमा यसपटक मुलुकभर कूल एक लाख ३० हजार ४२४ प्रयोगकर्ता भेटिएका छन् ।
विसं २०६९ मा प्रयोगकर्ताको सङ्ख्या ९१ हजार ५३४ थियो । सङ्ख्यात्मक रुपमा भने पाँच वर्षमा ३८ हजार ८९० प्रयोगकर्ता थपिएका छन् । लागूऔषध प्रयोगकर्ताको सवालमा मुलुकमा गरिएको यस तेस्रो सर्वेक्षण हो । यसअघि विसं २०६३ र विसं २०६९ मा सर्वेक्षण गरिएको थियो । विसं २०६३ मा ४६ हजार ३०९ जना प्रयोगकर्ता थिए ।
विसं २०७६ को कात्तिक र मङ्सिरमा प्रत्यक्षरुपमा प्रयोगकर्तालाई भेटेर पहिलो पटक प्रविधिको प्रयोग गरी तथ्याङ्क सङ्कलन गरिएको मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाका प्रमुख झंकनाथ ढकालले जानकारी दिए ।
नेपालमा लागूऔषध प्रयोगको ढाँचा, जोखिम र दुरुपयोगबाट हुने असर कम गर्नका लागि प्रमाणमा आधारित नीति तथ कार्यक्रम तर्जुमा गर्न यसरी अध्ययन गरिएको थियो । अप्रत्यक्ष गुणक विधिबाट ४३ जिल्लाका दुई हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरिएको उनले जानकारी दिए ।
विगतमा प्रतिदिन २१ जना प्रयोगकर्ता थपिने गरेको थियो । यसपटकको अध्ययनमा उक्त तथ्यांक घटेर प्रतिदिन १५ जना मात्रै प्रयोगकर्ता थपिने गरेका पाइएको अध्ययनमा सहभागी केन्द्रीय तथ्यां विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । यसपटकका अध्ययनमा प्रयोगकर्ताको उमेर, लिङ्ग, शिक्षा, प्रयोग गर्ने लागुऔषध, प्राप्त गर्ने श्रोत तथा सेवनको विधिजस्ता विषयसमेत प्रष्ट रुपमा देखाएको छ ।
प्राप्त विवरणअनुसार प्रयोगकर्तामध्ये एक लाख २१ हजार ६९२ (९३ दशमलव तीन प्रतिशत) पुरुष छन् । पुरुष प्रयोगकर्ताले एकान्त ठाउँलाई बढी रोज्ने गरेको पाइएको छ । एकाउन्न प्रतिशत एकान्त ठाउँमा गएर प्रयोग गर्ने गरेका छन् । पैँतिस प्रतिशत महिलाले एकान्त ठाउँ रोज्ने गरेको पाइएको छ ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले वृद्धिदर घटनु खुशीको कुरा भएको उल्लेख गर्दै अझै प्रयोग घटनाउन प्राप्त प्रतिवेदनको आधारमा नयाँ रणनीति र योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्रालयका सहसचिव चुत्रबहादुर बुढाले लागुऔषध प्रयोग गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै यसपटकको प्रतिवेदनले प्रयोग रोक्न आवश्यक नीति निर्माणका लागि सहयोग पुग्ने बताए ।
‘टिन एज’ मै लागूऔषधको प्रयोग
लागूऔषध प्रयोगकर्ता ‘टिन एज’ अर्थात २० वर्षभन्दा कम उमेर मै पहिलोपटक प्रयोग गर्ने गरेको तथ्य खुलेको छ । प्रतिवेदनअनुसार शुरुमा गाँजाजन्य पदार्थबाट प्रयोग थालेको पाइएको छ । सबैभन्दा बढी प्रयोग गर्ने पदार्थसमेत गाँजा रहेको प्रतिवेदनमा उल्लेख छ ।
कूल मध्य ८८ प्रतिशतले पहिलो पटक गाँजा प्रयोग गरेका थिए । अधिकांशले सुंघ्ने पदार्थ पनि प्रयोग गर्ने गरेको पाइएको छ । उत्तेजनात्मक पदार्थ प्रयोग गर्नेमा ४६ प्रतिशत रहेको छ । उनीहरु मध्ये ८४ दशमलव सात प्रतिशतले गाँजा प्रयोग गर्ने गरको छन् । यस्तै ७३ प्रतिशतले आनन्ददायक पदार्थ, ४६ दशमलव छ प्रतशतले अफिमजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ ।
प्रतिवेदनअनुसार बेरोजगार युवा बढी दुव्र्यसनमा फसेको पाइएको छ । कुल प्रयोगकर्तामध्य १५ देखि २९ वर्षका युवाले बढी लागूऔषध प्रयोग गर्ने गरेका छन् । त्यसमध्य ३९ दशमलव सात प्रतिशतले बेरोजगारीका कारण कुलतमा फसेको प्रतिक्रिया दिएका छ्न ।
यस्तै लागूऔषध प्रयोग गर्ने अन्यमा व्यापार गर्ने १५ दशमलव ९, दैनिक ज्यालादारीमा काम गर्ने १५ दशमलव छ, नोकरी गर्ने ११ दशमलव सात प्रतिशत रहेका छन् ।
यस्तै अध्ययन गर्ने ८ दशमलव ७, वैदेशिक रोजगारी गर्ने ४ दशमवल १ प्रतिशतले लागूऔषध प्रयोग गर्ने गरेका छन् ।
यसपटक प्रदेशगत रुपमा समेत प्रयोगकर्ताको सर्वेक्षण गरिएको छ । सर्वेक्षणको प्रतिवेदनअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रयोगकर्ता रहेको पाइएको छ । वाग्मती प्रदशेमा कूलमध्ये ३५ दशमलव छ प्रतिशत छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव चार प्रतिशत प्रयोगकर्ता छन् ।
गाँजाजन्य पदार्थ प्रयोग गर्दा उनीले रु ९२ खर्च गर्ने गरेका पाइएको छ । त्यसपछि सँुघ्ने पदाथका लागि रु १२४, आनन्ददायक पदार्थका लागि रु ५७४, अफिमजन्य पदार्थका लागि रु ८६९, उत्तेजनात्मक पदार्थका लागि रु एक हजार ८९० र भ्रमात्मक पदार्थका लागि रु दुई हजार १९५ सम्म खर्च गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा सबैभन्दा बढी सिरिन्ज साटासाट गर्नेमा रोगको सङ्क्रमण बढी देखिएको छ । झण्डै ९३ प्रतिशतले सिरिन्ज साटासाट गर्दा एचआइभी, हेपाटाइटिसलगायत अन्य रोग सरेको पाइएको छ । सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने २९ दशमलव तीन प्रतिशत छन् । सबैभन्दा बढी साथीभाइको सङ्गत र लहैलहैमा प्रयोग गर्ने गरेको समेत फेला परेको छ । यसरी प्रयोग गर्नेमा ८४ दशमलव चार प्रतिशत छ ।
प्रयोगकर्ताले लागूऔषध प्रयोगबाट मुक्त गर्नलाई रोजगारी सिर्जना गर्नुपर्ने र निःशुल्क उपचार सेवा दिनुपर्ने प्रतिक्रिया दिएका छन् । सर्वेक्षणअनुसार जीवनस्तरमा सुधार गर्न के गर्नुपर्छ भन्ने एउटा प्रश्नमा ४७ दशमलव दुई प्रतिशतले सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । यस्तै ३६ प्रतिशतले सरकारले निःशुल्क उपचार सेवा दिनुपर्ने बताएका छन् । प्रयोगकर्तामध्ये ३९ दशमलव दुई प्रतिशतले सीमानाकाको निगरानी गरी आयातमा रोक लगाउनुपर्ने सुझाव पनि दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५