शुक्रबार, पुष २६, २०८१
04:15 | १०:००

सरकार र चिकित्सकबीच ६ बुँदे सहमतिपछि आन्दोलन फिर्ता

राष्ट्रिय समाचार समिति सेप्टेम्बर ३०, २०२३

काठमाडौँ १३ असोज– नेपाल सरकार र चिकित्सकबीच आज भएको वार्ता सहमतिमा टुङ्गिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाही गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुव्र्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्नेलगायतका माग संघर्ष समितिले राखेको थियो ।

सहमतिपत्रमा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू