शुक्रबार, पुष २६, २०८१
16:02 | २१:४७

बेलायतको पछिल्लो च्यारिटी, जसमा मानिस चन्दा दिन हानथाप गर्दै थिए…

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२३

लन्डन । ‘कहिलेकाहीं त बेलायततिर पनि असाध्यै राम्रो सामाजिक कार्यक्रम हुन्छ । नमागे पनि काम गरेको देख्दा आफैं दिन मन लाग्ने । यस्तोमा फेरि ढोगी समाजसेवी कहां आउंछन् र ?’ चितवन एड ट्रष्ट (क्याट) यूके अध्यक्ष कृष्ण तिवारीले सामाजिक सञ्जालमा राखेको यो स्टाटस निकै अर्थपूर्ण छ ।

उनको यो पोष्ट मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा हालै आयोजित ‘आमा’ सेमिनारप्रति लक्षित थियो र कार्यक्रमका ‘ग्रयाण्ड डिजाइनर’ थिए सुनिलबाबु खड्का ।

बेलायतमा च्यारिटीका नाममा बग्रेल्ती कार्यक्रम गरिन्छन् । दिने इच्छा नभएपनि बलजफ्ती चन्दादाताको लिष्टमा नाम चढाइन्छ र पैसा कवुल गर्न वाध्य पारिन्छ । कतिपय त कार्यक्रममा जान पनि आजित भइसके ।

अनि च्यारिटीबाट कति रकम संकलित हुन्छ र त्यो कहां जान्छ धेरैमा पारदर्शिता देखिन्न । तर, मानवता प्रवर्धनको लक्ष्यसहित मानवसेवा आश्रम बेलायतले सेप्टेम्बर ६ तारिखबाट सुभारम्भ गरेको बेलायत यात्रा सार्थक र निकै पृथक बनेर अहिले सर्वत्र प्रशंसा भइरहेको छ ।

बेलायतका ५ स्थानमा ‘आमा’ सेमिनार प्रस्तुत गर्दा दानवीरहरुले स्वतस्फूर्त झण्डै एक करोड रुपैयां प्रतिवद्धता जनाए । मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले आफ्नो सिमित सर्कलका साथीभाईलाई सेमिनार ‘रिमाइन्डर’ पठाएका थिए । उनले कार्यक्रममा आउनै पर्छ पनि भनेनन् न त चन्दा यति दिनु भनेर अनुनय गरे । तर, कार्यक्रममा प्रस्तुत भिडियो र विवरणहरुले मानिस आफैं चन्दा दिन अगाडि सरे । एक एम्बुलेन्ससहित झण्डै एक करोड रुपैयां एक महिना आसपासमा संकलन गर्न सफल भए सुनिलबाबु ।

‘मैले कसैलाई पनि कार्यक्रममा आउन र चन्दा दिन करकाप गरिन’, खड्काले भने, ‘जो जति आउनुभयो खुशी र प्रभावित भएर चन्दा दिनुभयो । एक करोड रुपैयां बढी चन्दा दिने उहांहरु सबैप्रति म ह्दयदेखि आभारी छु ।’

विडम्बना जसलाई उनले अप्ठेरोमा साथ दिएका थिए तिनले भने वास्ता गरेनन् । यसको मतलव एनआरएनए यूकेकै सहयात्रीमध्ये धेरै त्यस्तो पवित्र कार्यक्रमबाट भागे ।

समय परिस्थितिले एनआरएनए यूके अध्यक्षको भारी बोक्दा सुनिलले धेरै गाली खाए, आलोचना खेपे । मानसिक तनाव र आफ्नै पकेटबाट खर्च हालेर उनले संस्थालाई जिवित राख्न खुवै प्रयत्न गरे । आफूमाथि जस्ता आक्षेप आएपनि वा गाली सहनुपरेपनि उनले नमिठो शैलीमा न कसैलाई जवाफ फर्काए न मिडियाबाजी गरे । त्यसो त उनलाई नाम र पदका लागि अध्यक्षको जिम्मेवारी लिएर टाउको दुखाउनु आवश्यक नै थिएन ।

रेष्टुरेन्ट व्यवसायमा सफल भइरहेका सुनिलबाबुले व्यक्तिगत तवरमा पहिला पनि धेरै च्यारिटी गरेका थिए । एनआरएनए यूके अध्यक्ष नबन्दा पनि धेरै परिचित थिए उनी । ‘तर यो पटकजस्तो कार्यक्रम आफैंले गरेर सफलता पाउंदा मिल्ने आत्मसन्तुष्टि अरुसंग दांज्न नै सकिन्न’- सुनिल गर्व गर्दै थिए, ‘म त भविष्यमा यस्तै च्यारिटी कर्ममा समय बिताउने सोच बनाएको छु ।’

सुनिलबाबु खड्का

बेलायतवासी नेपाली मनहरुमा माता पिता, मातृभूमि, शिक्षा दिने गुरुजनको गरिमा र महत्व बोध गराउन सेमिनार सफल भएको ठहर आयोजकको छ ।

सुरुवातमा पेट मिचिमिचि हसाउँदै अन्तमा सबैलाई भावुक बनाउनु कार्यक्रमको विशेषता नै बन्यो । ‘आमा’ कार्यक्रममा सहभागी भएर भावुक नहुने र नरुने सहभागी विरलै रहेका मानवसेवा आश्रम यूके च्याप्टर संयोजक खड्काले बताए ।

कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गरेका थिए । उनलाई संस्थाकी महासचिव सुशिला केसी (रुपा) र सचिव सुमन बर्तौलाले सघाएका थिए ।

वि.सं. २०८२ सालभित्र नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माणको लक्ष्यमा अगाडि बढिरहेको छ मानव सेवा आश्रम ।

यही संस्थाको उद्देश्य पुरा गर्न बेलायतबासी नेपाली मनहरुको साथ, सहयोग र सद्भाव जुटाउने योजनासहित बेलायत च्याप्टरले कार्यक्रम गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू