शुक्रबार, पुष २६, २०८१
16:09 | २१:५४

लन्डन गोर्खा ब्वाइजका चार युवाले च्यारिटीका लागि गरे १०० किमी दौड

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२३

लन्डन । च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ द लन्डन गोर्खा ब्वाइज टिमका चार युवाले १०० किलोमिटर दूरीको दौड सफलतापूर्वक पार गरेका छन् ।

क्वीन्स गोर्खा सिग्नल्स् पल्टनद्वारा आयोजित १०० के दौडमा गोरखा जिल्ला गुरूङ समाज यूके आवद्ध युवाहरू प्रशान्त गुरूङ, डेभिड गुरूङ, सुजन गुरूङ र दिवस गुरूङले दौड पार गरेका हुन् ।

ती युवाले दौडका लागि द लन्डन गोर्खा ब्वाइज नामकरण गरी गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म सहभागिता जनाएका थिए । युवाहरूलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले दौडमा सहभागी भएको युवाहरुले बताएका छन् ।

दौड क्वीन्स् एलिजावेथ कन्ट्री पार्क पिटर्सफिल्डबाट सुरू भई विभिन्न ९ वटा चेक प्वाइन्ट पार गरी ब्राइटन रेसकोर्समा अन्त भएको थियो ।

उक्त दौडमा चार-चार जनाको टिम गरी जम्मा २ सय वटा टिमले भाग लिएका थिए । सहभागी टिममध्ये करिब आधा टिमले ४० देखि ६० किमी दुरीभित्र आ–आफ्नो शारीरिक अस्वस्थताका कारण बीचमै दौड छाडेका थिए । द लन्डन गोर्खा ब्वाइजका युवा भने समयसीमाभित्रै दौड पुरा गर्न सफल भए ।

हरेक टिमले गोर्खा वेलफेयर ट्रष्टको कोषका लागि कम्तिमा पनि १२ सय पाउण्ड चन्दा संकलन गर्ने प्रतिवद्धता जनाउंछन् ।

समाजका अध्यक्ष गौतम गुरूङको सक्रियतामा द लन्डन गोर्खा व्वाइजले १६०० पाउण्ड बढीको चेक ट्रष्टलाई हस्तान्तरण गरेका छन् । समाजले सबै दाताप्रति आभार व्यक्त गरेको छ ।

समाजका संस्थापक अध्यक्ष थमप्रसाद गुरूङको निगरानीमा गत जनवरीदेखि नै दौडको पूर्वतयारीका लागि अभ्यास गरिएको थियो । उनलाई साथ दिन सपोर्टिङ टिममा पूर्वअध्यक्ष पञ्चबहादुर गुरूङ, एरिया प्रतिनिधि देवबहादुर गुरूङ र कृष्णबहादुर गुरूङ थिए ।

दौड कार्यक्रमबाट सम्पूर्ण सहभागीले गोर्खा वेलफेयर च्यारिटी ट्रष्टका लागि २ लाख पाउन्डभन्दा बढी चन्दा संकलन गरेको जनाइएको छ ।

यस दौड हरेक वर्ष गोर्खा वेलफेयर च्यारिटी ट्रष्टको कोषमा सहयोग गर्ने हेतुले आयोजना गर्ने गरिन्छ । सय किमी दुरी दिनरात, हावाहुरी र घामपानीको पर्वाह नगरी ३० घण्टाभित्र पार गरिसक्नुपर्ने समयसीमा तय गरिएको हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू