शनिबार, पुष २७, २०८१
20:21 | ०२:०६

मानवसेवा आश्रमको सहयोगार्थ अल्डरसट र नटिङ्घममा कार्यक्रम हुँदै

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२३


लन्डन – नेपालमा कोही पनि नागरिकले सडकमा आश्रित हुनु नपरोस् भनेर मानवता प्रवर्द्धन महाअभियान चलाइ रहेको मानवसेवा आश्रमको सहयोगार्थ यसै सप्ताहन्त अल्डरसट तथा नटिङ्घममा विशेष कार्यक्रम आयोजना हुने भएको छ।

मातृत्व र मातृभूमिको सम्मानमा आइतबार (सेप्टेम्बर २४ तारिख) अल्डरसटस्थित एम्पायर हलमा अपरान्ह २ देखि ५ बजेसम्म “आमा सेमिनार” आयोजना गरिनेछ।

नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानको सहयोगार्थ आयोजना गरिन लागेका ती कार्यक्रम आफ्नो सम्पूर्ण जीवन समाज सेवामा लगाएका मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीको उपस्थितिमा हुन गैरहेका छन्।

त्यस्तै, सोमबार २५ सेप्टेम्बरका दिन नटिङ्घममा पनि अर्को कार्यक्रम हुँदैछ। “मानवसेवा नै माधव सेवा हो। त्यसैले बेलायतस्थित नेपाली समाजका अगुवा, संघ संस्थाका प्रतिनिधिहरु तथा अगुवाहरुलाई ती दुवै कार्यक्रममा सहभागी भै यो अभियानमा साथ, समर्थन र हौसला बढाइ दिन हामी सादर आग्रह गर्दछौं,” मानवसेवा आश्रम यूके च्याप्टरका संयोजक सुनिलबाबु खड्काले भने। 

यसअघि गत १७ सेप्टेम्बरमा लन्डन प्लमस्टिडमा परिचयात्मक कार्यक्रम गरिएको थियो। रोयल बरो अफ ग्रीनवीच काउन्सिलका डेपुटी मेयर जीत रानाभाटको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम संयोजन वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले गरेका थिए। 

उक्त अवसरमा मानवसेवा आश्रमका महासचिव सुशीला केसी मानवसेवा, सचिव सुमन मानवसेवा, समाजसेवी चन्द्र अर्याल, लाल शिवयोगी, डा. बच्चु कैलाश कैनी लगायतको उपस्थिति थियो । कार्यक्रम प्रस्तुतिको क्रममा सहभागीहरु भावुक बनेका थिए भने अधिकाशंको आँखामा आँसु टलपलाएका थियो । मातृभूमि र आफूलाई जन्मदिने माता पिताप्रतिको सम्मान बढाउन कार्यक्रम सफल भएको सहभागीहरुले बताए।


कसरी शुरु भयो मानव सेवा आश्रम ?

वि सं २०६९ सालमा हेटौडामा सडकमै जीवन गुजारा गरिरहेका १८ जना बेवारिसे, अशक्त आमाबुवालाई सरसफाई र नुवाइ धुवाई गरि एउटा अस्थायी आवासमा राखेर शुरु भएको अभियान अहिले देशभरि फैलिएको छ।

१७ जिल्लामा आश्रम संचालनमा छन् भने आश्रम र आश्रम अन्तर्गतका केन्द्रहरुबाट ६ हजार भन्दा बढी अशक्त बाबाआमाको उद्धार गरिएको छ, जसमध्ये २४ सयको आफ्नै परिवारसंग पुर्नमिलन भएको छ। आश्रमका विभिन्न शाखाहरुमा हाल झन्डै १,६०० व्यक्तिहरुको रेखदेख तथा स्याहार सुसार भइरहेको छ।

“सुरुवाती समयमा हामीले जसरी सहयोगका लागि अनुरोध गर्दा सहयोग प्राप्त गर्न कठिनाई हुन्थ्यो, त्यो अवस्था अहिले छैन । मनका धनी नेपालीहरुले खुसीयाली मनाउने र आफ्ना पितृहरुको स्मरण गर्ने थलोका रुपमा मानवसेवा आश्रम विकास हुँदै गइरहेको छ । यो महाअभियानमा जोडिएर पुण्य कमाउन म बेलायत तथा संसारभरि रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई अपिल गर्दछु,” संस्थापक रामजी अधिकारीले भने।


हाल मानवसेवा आश्रमले सरकारी निकाय तथा सहयोगी दाताहरुको साथ र सहयोगमा कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरी कार्यान्वयनको चरणमा छ ।

आश्रमले वि. सं. २०८२ साल भित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गरि सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू