शुक्रबार, पुष २६, २०८१
06:29 | १२:१४

एमाले उपाध्यक्ष नेम्वाङको हृदयाघातबाट निधन

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२३

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए ।

उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।

यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेम्वाङ नेपाल ल क्याम्पसमा प्राध्यापक र कानून व्यवसायी थिए ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि अस्पताल पुगेका छन् ।

नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू