शनिबार, पुष २७, २०८१
23:42 | ०५:२७

लन्डन लेष्टरस्क्वायर आइम्याक्समा पहिलोपटक नेपाली फिल्म प्रिमियर

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२३


लन्डन । हलिउड र बलिउड सिनेमा प्रिमियर गरिरहने लन्डनको केन्द्र लेष्टरस्क्वायरस्थित आइम्याक्स सिने वर्ल्ड जति प्रतिष्ठित छ, महंगो पनि त्यति नै छ ।

उक्त मल्टिप्लेक्स सिनेमा चेनले अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमाहरु देखाउंछ टु र थ्रीडी फरम्याटमा ।  

हलिउड बलिउड सिनेमासंगमात्र परिचित आइम्याक्समा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि गरिन्छ । आउंदो डिसेम्बर दोश्रो साता ब्रिटिश फिल्म फेस्टिबल यहीं हुंदैछ । 

७२१ सिट क्षमताको अत्याधुनिक सिनेम्याटिक प्रविधियुक्त आइम्याक्स सिने वर्ल्ड आइतबार भने भिन्न दर्शक र फिल्म स्वागत गर्न व्यस्त रह्यो । 

उक्त सिनेमा हल झण्डै ७४० नेपाली दर्शकले भरिभराउ थियो र नेपाली फिल्मको इतिहासमा नयां अध्याय थप्दै थियो ‘गोर्खा वारियर’ ले ।

पूर्व गोर्खा मिलन चाम्सको निर्देशन र पूर्व गोर्खा रितेश चाम्सको लिड रोल रहेको ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियर शोले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार सम्भावनालाई थप उजागर गरेको छ । 

आइम्याक्समा फिल्म देखाउने आफ्नो २० वर्ष अघिदेखिको सपना पुरा भएको भन्दै निर्देशक मिलन चाम्स दंग थिए । ‘दर्शकहरुको उत्साहजनक उपस्थिति देखेर म निकै खुशी छु’, उनले प्रतिक्रिया दिए, ‘हामीले फिल्म बनाउन पनि कत्ति सम्झौता गरेका थिएनौं, अहिले प्रिमियरमा पनि गरेनौं । यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको ढोका खोलेको छ ।’

उनले प्रिमियर शोको खर्चमात्र करिब डेढ करोड रुपैयां भएको दावी गरे । मलेसियाको जंगलमै छायांकन गरिएको फिल्म निर्माणमा करिब १४ करोड रुपैयां खर्च भएको दावी निर्माण पक्षको छ । यसमा नेपाल र भारतका प्राविधिकले काम गरेका छन् ।

‘ब्राण्डिङ’ महत्वपूर्ण भएको जनाउंदै मिलनले अरु नेपाली फिल्म पनि आइम्याक्समा आउन् भन्ने आफ्नो चाहना रहेको सुनाए । 

‘मलाया इमर्जेन्सी’ पनि भनिने ब्रिटिश शासन विरुद्धको स्वतन्त्रता युद्धमा ब्रिटिश सेनासंगै गोर्खाले कम्युनिष्ट लडाकुहरुविरुद्ध लडेका थिए ।

तत्कालिन मलायाका घना जंगलभित्र महिनौंसम्म कम्युनिष्ट समर्थक लडाकुहरुलाई खोज्ने र उनीहरुलाई सफाया गर्ने काममा गोर्खाली सैनिकहरु सहभागी भए । गोर्खालीहरुकै सहयोगले उक्त लडाईंमा ब्रिटिशको जीत भयो । 

सन् १९४८ देखि सन् १९६० सम्म चलेको उक्त युद्धमा शुरुमा ४८ औं गोर्खा ब्रिगेड तथा पछि १७ औं गोर्खा डिभिजनलाई परिचालन गरिएको थियो ।

त्यही वीरताको कथा अनि मलाया युद्धमा गोर्खाका दुःख व्यथा, पारिवारिक सम्पर्क विच्छेद हुँदाको पीडा आदिमा आधारित फिल्म ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय प्रिमियरमा बेलायती राजनीतिज्ञ र सेनाका उच्च अधिकृत, नेपाली राजदूत, कलाकार, निर्देशकसहित दर्शकहरु सहभागी भए ।


फिल्म प्रिमियरअघि गोर्खा वारियर टिमले विभिन्न कीर्तिमान राखेका व्यक्तित्वलाई सम्मान गरेको थियो । अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हरिबुढामगर, सगरमाथा चढ्ने गोर्खा परिवारबाट पहिलो नायिका दिया पुन, राष्ट्र राई, प्यारा एथलेट कुशल लिम्बु, बेलायतका लागि पहिलो नेपाली काउन्सिलर धन गुरुङ लगायत बेलायती सञ्चारकर्मीलाई सम्मान गरिएको हो । 

गोर्खा वारियरका निर्माता हुन् सुमन राई र सुस्मिता वाइबा । सह–निर्मातामा सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा छन् भने रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले लगायत कलाकारको अभिनय छ । उक्त फिल्म आउंदो फागुन/चैततिर नेपालसहित विश्वभर प्रदर्शन गर्ने योजना रहेको मिडिया कोअर्डिनेटर आकाश सुनुवारले बताए ।




फोटो- कुशल श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू