आइतबार, भदौ २३, २०८१
01:10 | ०५:५५

राजेश हमालको उपस्थितिमा लन्डनमा बाल गृह सहयोगार्थ च्यारिटी डिनर

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२३

लन्डन- हेल्प नेपाल नेटवर्कले धुलिखेलमा सञ्चालन गरेको बाल गृहको सहयोगार्थ लन्डनमा महानायक राजेश हमालको सहभागितामा एक च्यारिटी डिनर गरिएको छ।  

हेल्प नेपाल नेटवर्क यूकेले लन्डनको ब्ल्याकहिथस्थित एभरेस्ट इन रेष्टुरेन्टमा सोमबार साँझ गरेको ‘ब्ल्याक टाइ डिनर’ मा स्थानीय ५ दर्जन बढी नेपाली सहभागी बने। 

कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता हमालले विदेशमा बस्ने नेपालीले जन्मभूमिमा आवश्यकतामा परेका अरु नेपालीलाई गर्दै आएको सहायता प्रशंसनीय रहेको बताए।

विदेशबाट कसैले सानो योगदान दिंदा स्वदेशमा ठूलो समुदायलाई राहत मिल्न सक्छ भन्दै उनले आफूबाट सम्भव हुने कुनै पनि सहयोगका लागि पछि सर्न नहुने धारणा राखे।

हेल्प नेपाल नेटवर्कबाट नेपालमा भएका थुप्रै परोपकारी कामहरुबारे जानकारी लिएको भन्दै उनले नेटवर्कले गर्दै आएका परोपकारी कामको प्रशंसा गरे।  यस्ता सहयोगी अभियानमा जोडिएर सक्दो योगदान गर्न सबै प्रवासी नेपालीलाई उनले आव्हान पनि गरे।

जुनसुकै देशमा रहेपनि आफ्नो वास्तविक पहिचान कहिल्यै नफेरिने बताउंदै उनले डायस्पोरामा हुर्किंदै गरेको नयाँ पुस्तासम्म पनि नेपाली संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे।

उक्त कार्यक्रमबाट संकलित रकम खर्च कटाएर हेल्प नेपाल नेटवर्कले धुलिखेलमा सञ्चालन गरेको बाल गृहलाई पठाइने हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठले बताए।  उनले उक्त कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए।

सो अवसरमा हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टी प्रसिद्ध प्रधान र प्रदीप पनेरुले नेटवर्कले नेपालमा गरेका परोपकारी कामहरुका साथै हेल्प नेपाल बाल गृहको बारेमा जानकारी गराएका थिए। बाल गृह पुगेर फर्किएका एनआरएनए यूके पूर्व महासचिव फडिन्द्र भट्टराईले पनि आफ्नो अनुभव शेयर गरे।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लन्डन रोयल ग्रीनवीच बरोका डेपुटी मेयर जीत रानाभाटले डायस्पोराका नेपालीहरुमा ‘नेपालीपन’ जोगाइराख्ने कार्यमा बेलायतको स्थानीय सरकारबाट सहयोग मिल्ने जानकारी दिए।

कार्यक्रम सञ्चालन हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टी यादव भण्डारीले गरेका थिए भने कार्यक्रम संयोजन ट्रष्टीहरु प्रदीप पनेरु, यादव भण्डारी र प्रतिमा जोशीलगायतले गरेका थिए। 

सन् २०१४ देखि सञ्चालित बालगृहमा अहिले २२ जना बालबालिका बसेर पठनपाठन गरिरहेका छन्। 


तस्बिर- कुशल श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू