आइतबार, मंसिर ९, २०८१
05:30 | ११:१५

उ बेला हामी स्कुल हिंड्थ्यौं, अहिलेको पुस्ता जीम !

डा बच्चु कैलाश कैनी सेप्टेम्बर ६, २०२३

डा. बच्चुकैलाश कैनी

केही समय पहिले नेपालमा रहँदा आफ्ना चिनजानका मानिस वा आफन्त कसैलाई भेट्यो कि एउटै कुरा सुन्नु पर्ने, ‘बाबु पहिले भन्दा निकै दुब्लाउनुभएछ।  किन दुब्लाएको बाबु ?’ मेरो सहज उत्तर हुन्थ्यो, ‘यति दुब्लाउनको लागि मैले दिनको कम्तिमा एक घण्टा मेहेनत गर्नुपर्छ। म मेहेनत गरेर दुब्लो भएको, चिन्ता गर्नु पर्दैन।’ बुझ्नेले बुझ्थे, कसैले नबुझेझैं गर्थे। कति फिस्स हाँस्थे, कतिले थप जिज्ञासा राख्थे।

यस्तो प्रश्न सोध्नुमा दुई वटा पक्ष थिए। पहिलो, हाम्रो चलन अरु कोही मानिसको देखावटी बनावट वा रुपमा टिप्पणी गर्नु। दोश्रो, दुब्लाउनु भनेको राम्रो हैन भन्ने सन्देश दिनु। यो हाम्रो नेपाली समाजमा चलेको सामान्य प्रचलन नै हो। जुन, धेरै समयदेखि चल्दै आएको छ र चलिरहने नै छ। यसलाई सबैले मान्ने र स्वीकार गर्ने भएकोले यो हाम्रो संस्कृति जस्तै भइसक्यो।

कहिलेकहीं नियमित रुपमा खानपान र काम गर्दागर्दै दुब्लाउनु  वा आशातित भन्दा निकै तौल घट्नु स्वास्थ्य समस्या हुन सक्छ। तर, आफैंले योजना बनाएर लक्ष्य अनुसार तौल कायम राख्नु वा दुब्लाउनु राम्रो हो। यो आजका अधिकांश मानिसको सपना पनि हो। यसका लागि कसैले खानपिनमा ध्यान दिन्छन,  कसैले नियमित रुपमा शारिरीक व्यायाम गर्छन्। समय र परिस्थिती अनुसार मान्छेले धेरै उपाय अपनाउँछन्। जस्तै, कतिपय चिकित्सकको राय लिन्छन्, कोही पौष्टिकविदसँग परामर्श गर्छन् भने अन्यले सल्लाहकारको सल्लाह पनि लिन्छन्।   

हाम्रो पालामा अर्थात् विसं. २०३०-४० को दशकताका धेरै मोटो मान्छे हाम्रो समाजमा देखिनु झन्डै दुर्लभ नै थियो। किनकी उति बेला मान्छेमा अहिलेको जस्तो भौतिक सुविधाहरु थिएनन्। आम मानिसमा सवारी साधनको उपलब्धता एकदम कम थियो।  मानिसको आय श्रोत पनि निकै कम थियो। अधिकांश मानिस कृषि पेशामा निर्भर थिए। आधुनिक समाजको लागि चाहिने भौतिक पूर्वाधार निकै कम थियो।  

ग्रामिण भेगमा उ बेला हाम्रो पालामा स्कुल जाने भनेको पढ्नु मात्रै थिएन, हिड्नु पनि थियो। हाम्रो पालामा माध्यमिक स्कुल जान र आउन दुईतर्फी करिब तीन घण्टा हिंड्नु हाम्रो लागि सामान्य थियो। त्यस माथि स्कुलमा समय हुनेबित्तिकै बाहिर चौरमा स्वतस्फुर्त कुद्ने हाम्रो स्कुले जीवनको रुटिन थियो। त्यो भन्दा बढी शारीरिक व्यायाम अरु के नै हुन सक्थ्यो र ?

प्राथमिक र निम्न माध्यमिक स्कुल घरनजिकै भएपनि हामी स्कुल जान, आउन, स्कुलको चौरमा खेल्न र अरु बेला घर वरिपरि गाउँमा कुद्न व्यस्त हुन्थ्यौं। खेल्ने भनेको घर बाहिर गाउँमा कुद्नु, बनपाखा गर्नु, रुख चढ्नु, नदी वा खोलातिर पौडन जानु आदि थियो। यो हाम्रो शौख र बाध्यता दुवै थियो।  यसरी हुर्के, बढे र पढेको थियो अधिकांश हाम्रो पुस्ताको मानिस।

अहिलेको दुर्गम वा ग्रामिण भेगमा बस्ने धेरै केटाकेटी र युवा पुस्ताको यस्तै कहानी छ। अहिले चालिस वर्षपछि पनि उ बेला हाम्रो जस्तै कहानी भएका केटाकेटी र युवायुवतीहरु छन् भन्ने सुन्दा, देख्दा र पढ्दा दु:ख लाग्छ। नेपालमा चालिसको दशकपछि धेरै राजनीतिक परिवर्तन भएपनि धेरै मानिसको आर्थिक हैसियत, जीवनशैली र दिनचर्यामा भने कुनै फरक पर्न सकेको छैन भन्ने सुन्दा अचम्म लाग्छ।  

समय परिवर्तनशील छ। ढिलो वा चांडो विकास हुन्छ नै। यो दशकमा केही भएन भने छिटोमा अर्को दशक, हैन भने पक्कै पनि कुनै अर्को शताब्दीमा विकास हुने नै छ। तर, विकास छिटो हुनु र ढिलो हुनुमा आम नागरिकको जीवनशैली र दिनचर्यामा भने धेरै अन्तर हुनेछ। यस विषयमा अहिले धेरै चर्चा नगरौं, किनकी यो लेखको मनसाय नेपालको आर्थिक र सामाजिक विकासको मोडेलको चर्चा गर्नु हैन।  

उतिबेला बिहान स्कुल गएपछि एकैपटक घरमा आएर मकै, भटमास वा आफ्नै बारीमा उब्जनी भएको फलफूल वा आफ्नै घरमा तयार भएको खाना खानु हाम्रो दैनिकी थियो। पौष्टिक तत्व भनेको के हो भन्ने स्कुलमा पढेपछि थाहा भयो हामीलाई। शारीरिक सुगठनबारे धेरै पछि थाहा भएको हो ।

मेरी आमाहरुको समयमा गर्भवती हुँदा महिला र पेटमा भएको बच्चाको स्वास्थ्य परीक्षण गर्ने र गराउने चलन नै थिएन। त्यस्तो अवस्थामा महिलालाई विशेष प्रकारको पौष्टिक खाना वा भिटामिन दिने प्रचलन नै थिएन भन्दा पनि हुन्छ उतिबेला। कम्तिमा मलाई यी सबै कुराहरुको स्मरण वा जानकारी छैन।

अहिलेको शहरिया युवा पुस्ता र केटाकेटीको कुरा भने अलग छ। शहर तिर जिउ र मस्सल बनाउन ‘जीम कल्चर’ आएको छ। कहीं कतै जान हिड्ने कुरा एकादेशको कुरा भएको छ। मकै र भटमासलाई हरेक बाटो, गल्ली र चोकका पसलमा पाईने जंक फूड, रेष्टुरेन्टको फास्ट फूड र अन्य खानाले प्रतिस्थापन गरेको छ। हरियो जंगल देख्न डाँडाकाँडातिर हाईकिङ जानुपर्ने अवस्था छ। खेतीपाती कसरी हुन्छ थाहा छैन, त्यो केवल किताबी ज्ञानमा सिमित छ।

जन्मनुअघि आमाको पेटमा रहँदादेखि नै आमा र शिशु दुवैको हेरचाह हुन्छ अहिले। जनस्वास्थ्य नीतिअनुरुप सरकारी प्रयास र व्यक्तिगत तवर दुवै किसिमले यसमा प्रयास हुन्छन् आजकल। अहिले केटाकेटीहरुलाई स्वस्थ राख्न अभिभावकले पौष्टिक खानेकुरा खुवाउन प्रयास गर्नु सामान्य हो। यसका अलावा बजारमा पाईने धेरै जंक फूडको प्रयोगले बढेको ‘जंक फूड वा फास्ट फूड कल्चर’ जनस्वास्थ्यको लागि ठूलो चुनौती भए पनि यो कम गर्न जनचेतना पनि क्रमश: बढ्दै छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा ५ देखि १९ वर्षभित्रका बच्चा तथा युवाहरुमध्ये करिब तीन सय ४०  मिलियन अर्थात् ३४ करोड बच्चा तथा युवाहरुमा मोटोपनाको समस्या रहेको छ। यो बढ्ने क्रममा रहेको तथ्यांकले देखाएको छ। यसका साथै नसर्ने प्रकारका रोगहरु पनि बढ्दै गइरहेको छ र यसले आउने दशकहरुमा विकराल रुप लिने प्रक्षेपण छ।  

उति बेला मोटोपन के हो हामीलाई र हाम्रा अभिभावकलाई थाहा नै थिएन। मोटो बच्चा वा मान्छे हुनु स्वस्थ हुनु मानिन्थ्यो। चिनी रोग भनेर चिनिने डाईबेटिज के हो? हाम्रा हजुरबुवा, हजुरआमा, बा, आमाको पुस्तालाई आफ्नो समयमा यो कुरा थाहा नै थिएन। हरेक दिन जैविक वा अर्गानिक खाना खाने र खेतबारीमा हरेक दिन काम गर्ने, बनपाखा गर्ने र वस्तुभाउको रेखदेख गरी समय बिताउने उहाँहरुलाई यस्ता रोगले छुने कुरा नै भएन।  

भन्छन् समय बलवान छ। पर्खनुपर्छ धेरै कुरा देखिन्छ र भोग्न पाइन्छ। हाम्रो पुस्ताको हकमा यो कुरा लागू भयो। हामी भाग्यमानी पुस्ता हौँ। गाउँमा जन्मेर उतै हुर्के, बढे र पढेर शहर पसियो। कलेज स्तरको पढाइ शहरमा गरियो। नेपालमा जागिर खाइयो। अनि कालान्तरमा विदेशतिर हानियो। यतै थप काम गर्ने, पढ्ने, अनुभव लिने र फेरी केही गर्ने मौका पाइयो। भाग्यले सबै जुरायो र धेरै भोग्ने मौका मिल्यो।

अन्त्यमा, यता कसैले दुब्लो पातलो वा मोटोघाटो किन भएको कसैले नसोधे पनि केही छैन। उता नेपालमा भने यस्तै हालखबर सोध्ने साथीभाई वा आफन्तले हामीलाई प्रतिक्षा गर्दैछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू